काठमाडौं । भिजिट भिसाको आवरणमा नेपालबाट हुने मानव तस्करी अझै रोकिएको छैन । पछिल्लो एक महिनामा मात्रै १२ सय ८९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
संघीय संसद्मा दिनदिनै जसो भिजिट भिसाको दुरूपयोग भइरहेको भन्दै छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको मागसमेत भइरहेको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेर छानबिन पनि गरिरहेको छ भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा भएको अपराधको पनि छानबिन गरिरहेको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा अहिले पनि भिजिट भिसाको दुरूपयोग रोकिएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले पनि दैनिक झन्डै ६ सय नेपाली भिजिट भिसामा विदेश गइरहेका छन् । तर कति साँच्चिकै घुम्न र कति कामका लागि गएका हुन् सरकारी निकायले ठम्याउन सकेका छैनन् ।
जुलाई महिनामा मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान खोज्ने १ हजार २ सय ८९ जनालाई फिर्ता पठाइयो । यसले नै के शंकालाई बल पुर्याउँछ भने भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह अहिले पनि सक्रिय छ ।
विचौलियाले भारतको बाटो हुँदै कुवेत लैजान लागेका ४७ जना नेपाली महिलालाई यही साउन ८ गते भारतबाटै फर्काइयो । बिचौलियाले नक्कली कागजपत्र थमाएको भेटिएपछि उनीहरूलाई फर्काइएको हो ।
मानव बेचविखन अनुसन्धान ब्यूरोले नक्कली कागजात थमाएर पठाउनेहरूको खोजी गरी कारबाही सुरू गरिसकेको छ । पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइहरूको कागजपत्र शंकास्पद देखिएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रलोभनमा पारेर भिजिट भिसामा विदेश पठाउने र अवैधरूपमा श्रममा लगाउनेहरुलाई कारबाही गर्न प्रभावकारी कानुन नहुँदा महिलाको तस्करी भइरहेको प्रवासी नेपाली समन्वय समिति बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार पछिल्लो तीन महिनामा भिजिट भिसामा मात्र ५३ हजार ५ सय ३४ जना नेपाली विदेश गएका छन् । यसरी जाने मध्ये कति फर्किए र कति अवैधरूपमा उतै बसे भन्ने यकीन छैन ।
यति धेरै नेपालीले वैदेशिक यात्रा गरी डलरमा पैसा खर्चसक्ने क्षमता नभएको सरकारी निकायलाई पनि थाहा छ । तर मानव अधिकारको विश्वव्यापी घोषणापत्र, राहदानी ऐन २०७६ ले दिएको सुविधा र अध्यागमन ऐन २०४९ को व्यवस्थाअनुसार भिजिट भिसामा जान रोक्न नमिल्ने सरकारी अधिकारीहरूको भनाइ छ ।
हो, सरकारी अधिकारीले दाबी गरे जस्तै भिजिट भिसामा विदेश जान रोक लगाउन मिल्दैन । तर विचौलियाले सोझा-साझा नेपालीलाई चंगुलमा पारेर रोजगारी दिलाउने प्रलोभनमा भिजिट भिसाको दुरूपयोग गरी विदेश पठाउन भने रोकिएको छैन । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा अहिले पनि भिजिट भिसाको दुरूपयोग भएको आप्रवासनका जानकारको भनाइ छ ।
पछिल्लो तीन महिनामा भिजिट भिसामा जानेमध्ये सबैभन्दा धेरै १२ हजार ३ सय ३ जना यूएई गएका छन् । यस्तै १८ सय ६३ जना ओमान र १३ सय २४ जना कतार गएका छन् । विचौलियाले नेपालबाट यूएई ट्रान्जिट बनाएर अवैधरूपमा अन्य देशमा श्रमिक पठाउने गरेका छन् ।
यूएई पुयाएपछि नेपाली श्रमिक विचौलियाको ट्रयापमा पर्ने र बाध्यकारी श्रममा लगाइने गरेको छ । यूएईस्थित नेपाली दूतावासलाई श्रमिकका समस्या समाधान गर्नै हम्मे-हम्मे पर्ने गरेको छ । भिजिट भिषा मार्फत् गएका नेपालीलाई अवैद्य काममा लगाउँदा समेत कहिँ कतै नियमन हुन सकेको छैन ।
अध्यागमन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा भिजिट भिसामा २ लाख ४५ हजार ७ सय ६७ महिला विदेश गएकोमा १ लाख ८९ हजार २ सय १ जना मात्र फर्किएका छन् । ५६ हजार ५ सय ६६ जना उतै छन् ।
त्यसमध्ये कति जना अवैधरूपमा श्रममा संलग्न छन् भन्ने तथ्यांक छैन । भिजिट भिसामार्फत मानव तस्करी गरेको आरोपमा गृहमन्त्रालयका सहसचिव तिर्थ भट्टराई माथि अख्तियारले अनुसन्धान गरिरहेको छ भने स्वयं गृहमन्त्री माथि पनि अनुसन्धान हुनुपर्ने भन्दै लामो समय संसद अवरूद्ध भएपछि छानबिन समिति बनेको छ । तर एकातिर छानबिन भइरहँदा अर्कातिर भित्रै भित्रै भिजिट भिसामा मानव तस्करी भइरहेको तथ्यांकहरूले देखाएको छ ।