रामपुरका ११ वर्षीय बालक दुई वर्षदेखि फलामको खोरमा, कमजोर आर्थिक अवस्थाले शारिरीक र मानसिक समस्याको उपचारमा कठिनाइ

अभिभावकलाई सन्ताप
श्रावण १६, २०८२ |माधव अर्याल
रामपुरका ११ वर्षीय बालक दुई वर्षदेखि फलामको खोरमा, कमजोर आर्थिक अवस्थाले शारिरीक र मानसिक समस्याको उपचारमा कठिनाइ

पाल्पा। पाल्पाको रामपुर नगरपालिका-६ तिलकपुरका ११ वर्षीय पवन कुमाल झन्डै दुई वर्षदेखि फलामको खोरमा दिनकाट्न बाध्य हुनुहुन्छ । 

शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण पवनलाई खोरमा राख्नुपरेको परिवार बताउँछ । खोरमा थुनेर राख्ने रहर नहुँदा नहुँदै पनि छोराकै सुरक्षाका लागि फलाम खोरमा थुन्नुपरेको परिवारको दुखेसो छ ।

पाल्पा रामपुर तिलकपुरस्थित सडक छेउमा रूखको छहारीमा फलामे खोर बनेको छ । खोरभित्र ११ वर्षीय बालक पवन कुमाल हुनुहुन्छ । जुम्ल्याहामध्येका जेठा छोरा हुनुहुन्छ पवन । 

भाइ पविन साथीभाइसँग रमाउँदै कक्षा ६ मा पढिरहँदा दाइ पवनको भने हिंड्न-बोल्न नसक्ने, कोही मान्छे देख्यो भने मुस्कुराउँदै हातले इसारा गर्दै आफूतिर बोलाउँदै बस्ने बानी छ । लामो उपचार गराएको भए पनि रोग निको हुन नसकेपछि यो अवस्था आइलागेको आमा पूर्णमाया बताउनुहुन्छ ।

राम्ररी हिँडडुल गर्न नसक्ने भए पनि खोरबाट बाहिर निस्कन पाउँदा पवनलाई खुसी मुद्रामा देख्न सकिन्छ । पवनका कुर्कुचा जन्मदै बांगा थिए । एक वर्षको हुँदा कुर्कुच्चा सोझ्याउन लुम्बिनी मेडिकल कलेजमा उपचार सुरू गरियो । 

कुर्कुचामा केही सुधार भइरहेकै बेला फेरि बिरामी परेपछि जाँच गर्दा उहाँको मुटुमा प्वाल परेको पत्ता लाग्यो । पछि कानसमेत सुन्न नसक्ने कुरा थाहा भयो । रामपुर नगरपालिकाको सहयोगमा काठमाडौंका मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा पवनको मुटुको शल्यक्रिया भएको त छ तर डाक्टरले फेरि मस्तिष्कमा ट्युमर छ भनेपछि आमा पूर्णमाया सन्तापैसन्तापमा हुनुहुन्छ ।

लथालिङ्ग तरिकाले हिँड्न थालेपछि पवनलाई सम्भावित दुर्घटनाबाट जोगाउन परिवारले फलामको खोर बनाएको बाध्यता परिवारसँग छ । विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिइरहेका पवनलाई उपचार गराउन विभिन्न अस्पताल धाइरहेको बताउने आमा पूर्णमाया सामाजिक सञ्जालमा आफूलाई अनावश्यक आरोप लगाएर भिडियो बनाउनेहरूप्रति असन्तुष्टि जनाउनुहुन्छ ।

छोराको लालनपालन र उपचार खर्च जुटाउन बुबा कृष्णबहादुर विगत आठ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । आफ्नो जग्गाजमिन नभएकाले पूर्णमायाले छिमेकीको खेती किसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । पूर्णमाया फुर्सदमा हुँदा पवनलाई खोरबाहिर निकालेर रेखदेख गर्ने गर्नुहुन्छ भने बेलुकी खाना खुवाएर साथमै सुताउने गर्नुहुन्छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।