डडेल्धुरा । वैदिक शास्त्रले खीरलाई सात्विक आहार मानेको छ । देव तथा पितृकार्यमा खीरले विशेष महत्व राख्छ । साउनमा गाउँघरमा दूधको उत्पादन बढ्ने भएकाले खीर पकाई इष्टमित्रलाई बोलाएर खाने चलन छ ।
४९ वर्षअघिदेखि निरन्तर खीर बेचेका खीर बाजे डडेलधुराको साहुखर्कको परिवर्तनको साक्षीमात्रै बन्नुभएन । आफ्नै गाउँठाउँमा निरन्तर मेहनतले सफलता चुमेका प्रतिनिधि पात्र बन्नुभयो ।
घरभित्रको सामान्य दूधको परिकारलाई यसरी व्यापारीकरण गर्दा उहाँको ख्याति जिल्लाको सीमा नाघ्दै परपरसम्म फैलियो । खीर बाजेकै परिश्रमले भीमदत्त राजमार्गमा खीर बेच्न सानोतिनो केन्द्र बन्यो ।
मृत्युपछि पनि उहाँको खीर व्यापार निरन्तर छ । अहिले दोस्रो पुस्ताले साहुखर्चको खीर व्यापारलाई निन्तरता दिएका छन् । पहाडबाट तराई झर्दा होस् या तराईबाट पहाड उक्लिदा, भीमदत्त राजमार्ग हिड्ने सवारी रोक्ने एक स्थान छ-साहुखर्क । चालकले नमानेका बेला करै गरेर भएपनि साहुखर्कमा रोकेर खीरको स्वाद लिन कमैमात्र यात्रुले छुटाउँछन् ।
गाईको दूधमा चामल, मकै, सेवइ, गाजर आदि हालेर बनाइने खीर देवतालाई चढाएर खाने धार्मिक विश्वास पनि छ । धार्मिक तथा सांस्कृतिक कार्यमा पनि खीरलाई विशेष परिकारका रूपमा खुवाइने गरिन्छ ।
पसलहरूमा मात्रै होइन साउन महिनामा सुदूरपश्चिमका अधिकांश घरमा खीरको स्वाद लिने गरिन्छ । गाउँघरमा धेरै पशुपालन हुने र बर्खामा सहजै दूध पाउन सकिने हुनाले साउनमा खीरको स्वाद लिने गरिन्छ । हाम्रो संस्कृति र कृषि परम्परासँग जोडिएको खीर मिठास र मिलनको बिम्ब बनेको छ ।