
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-१ पाखाटोलका थामी समुदाय पहिरोका कारण घरबारविहीन बनेको दुई वर्ष पुग्नैलाग्यो।
सोही वडाको तल्लो मजुवामा जग्गा किनेर टहरामा सरेका उनीहरूको जीवन कष्टकर छ। उनीहरू खानेपानी, बिजुली र सुरक्षित आवासको अभावमा संघर्ष गरिरहेका छन् । मीनकुमारी थामीको परिवार जस्ताले बारेको यो सानो टहरामा बसिरहेको छ।
विपत्तिपछि यो भन्दा गतिलो अस्थायी आश्रय उहाँले बनाउन सक्नुभएन । २०८१ भदौ ८ गते अविरल वर्षापछि पाखाटोल बस्ती रहेको जमिन नै बग्न थाल्यो । त्रासले मीनकुमारीको परिवार महिनौँसम्म त्रिपालमुनि बस्नुपर्यो । त्यसपछि यो परिवार पुस्तौंदेखि बस्दै आएको घर छाड्न बाध्य भयो र सुरक्षित स्थान खोज्दै तल्लो मजुवातर्फ सर्यो ।
तर, ऋणधन गरेको पैसाले जग्गा किनेर बनाएको टहरामा आधारभूत सुविधा छैन। यो बसाइँले मीनकुमारीलाई अहिलेको दुःखभन्दा सन्तानको भविष्यको चिन्ताले सताएको छ। सोही बस्तीका पञ्चबहादुर थामी पनि पहिरोको जोखिमपछि घर छाड्न बाध्य हुनुभयो ।
यो सानो एक कोठे टहराभित्र १० जनाको परिवार कोचिएर बस्नुपर्दा दैनिकी नै कष्टकर बनेको छ। २०८१ भदौ ८ गतेको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका-१ मा बसोबास गर्ने अति सीमान्तकृत थामी समुदायको पाखाटोल बस्ती पहिरोको उच्च जोखिममा पर्यो।
ज्यान जोगाउन घर छाड्न बाध्य भएका धेरै परिवारले महिनौँसम्म त्रिपालमुनि कष्टकर जीवन बिताए। विपद्पछि सरकारी निकाय तथा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा पहिरोपीडितलाई जस्तापाता उपलब्ध गराइयो। त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त करिब ३ लाख रुपैयाँ सहयोग रकमले पुनर्स्थापनाको प्रयासलाई केही सहज बनायो ।
त्यसमा पीडित परिवारहरूले आफ्नै स्रोतबाट थप रकम जुटाएपछि पाखाटोलका बासिन्दाले सामूहिकरूपमा करिब २० लाख रुपैयाँमा तल्लो मजुवामा जग्गा खरिद गरे। हाल तल्लो मजुवामा पाखाटोलबाट विस्थापित २२ भन्दा बढी परिवार बसिरहेका छन्। नयाँ ठाउँमा खानेपानी, विद्युत्, सडकलगायतका आधारभूत सुविधाको अभाव छ।
पहिरोको त्रासले थातथलो छाडेर जस्ताको अस्थायी टहरामा आश्रय लिएका उनीहरू आज पनि आधारभूत सुविधा र सुरक्षित आवासको प्रतीक्षामा छन्। राज्यले स्थायी पुनर्स्थापना गरी सम्मानपूर्वक बाँच्ने वातावरण बनाइदिने आशा भने उनीहरूले अझै मारेका छैनन्।