
काठमाडौं । चालिस वर्षको लामो खडेरी, युद्धको छाया र २१ खेलको कठिन छनोट यात्रापछि "लायन्स अफ मेसोपोटामिया" अर्थात् इराक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किएको छ ।
क्षेत्रीय तनाव र युद्धको बीच पनि फुटबलले कसरी एक राष्ट्रलाई एकताबद्ध गर्न सक्छ भन्ने उदाहरण इराकले प्रस्तुत गरेको छ । सन् १९८६ को मेक्सिको विश्वकपपछि पहिलो पटक विश्वकप खेल्न लागेको इराकको यो गौरवमय यात्रा र यस पटकको चुनौतीका बारेमा आजको विश्वकप विशेषमा चर्चा गर्दैछौं ।
इराकको विश्वकपका सबैभन्दा अविस्मरणीय क्षणहरू सन् १९८६ को मेक्सिको विश्वकपमा जोडिएका छन् । इराकले विश्वकपको इतिहासमा हालसम्म गरेको एकमात्र गोल दिवंगत अहमद राधीले बेल्जियमविरुद्ध प्रहार गरेका थिए । यद्यपि, इराकले त्यतिबेला पाराग्वे, बेल्जियम र मेक्सिकोविरुद्ध खेलेका तीनै खेलमा पराजय व्यहोरेता पनि, उनीहरूको प्रदर्शन निकै प्रतिस्पर्धात्मक थियो ।
इराकको विश्वकप इतिहास निकै संघर्षपूर्ण छ। १९८६ मा पहिलो पटक छनोट हुँदा टोली तत्कालीन राष्ट्रपति सद्दाम हुसेनका छोरा उदय हुसेनको कडा र क्रूर नियन्त्रणमा थियो । हार व्यहोर्दा खेलाडीहरूले यातना समेत भोग्नुपरेको तीतो यथार्थ ईराकी फुटबलले भोगेको छ ।
सन् १९८६ पछि इराकले ९ पटक विश्वकप छनोटका प्रयासहरू गर्यो । तर, हरेक पटक कतै न कतै चुक्दै आएको थियो । तर , सन् २०२६ का लागि इराकले कसरी विश्वकपमा स्थान सुरक्षित गर्यो भन्ने कथा कुनै चलचित्रको भन्दा कम छैन। प्रशिक्षक ग्राहम आर्नोल्डको नेतृत्वमा टोलीले २१ खेलको लामो र संघर्षपूर्ण यात्रा पार गर्यो ।
छनोटको अन्तिम चरणमा मेक्सिकोको मोन्टेरीमा भएको इन्टर-कन्टिनेन्टल प्ले-अफमा बोलिभियालाई २-१ ले पराजित गर्दै इराकले आफ्नो ४० वर्षको विश्वकप पर्खाई समाप्त गर्यो । अली अल-हामादी र आयमेन हुसेनका गोलहरूले ४ करोड ६० लाख इराकीहरूमा खुसीको लहर ल्याएका थिए ।
यस पटक इराकी टोलीमा आयमेन हुसेन मुख्य स्ट्राइकर र 'इराकी गोल मेसिन' हुन् । उनले बोलिभियाविरुद्ध निर्णायक गोल गरेका थिए । त्यसैगरी, इंग्ल्यान्डमा व्यावसायिक फुटबल खेल्ने अली अल-हामादीको गति र ड्रिब्लिङ विपक्षीका लागि घातक हुन सक्छ ।
म्यानचेस्टर युनाइटेडको एकेडेमीमा हुर्किएका मिडफिल्डर जिदान इकबाल पनि यस विश्वकपमा सिरीयन टोलीमा महत्वपूर्ण रहन सक्छन् । विश्वकपको तयारी स्वरूप इराकले भर्खरै युरोपेली च्याम्पियन स्पेनसँग १-१ को बराबरी खेलेर आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ ।
मर्चस डोस्कीले गरेको गोलले इराक कुनै पनि ठूला टोलीलाई चुनौती दिन सक्षम छ भन्ने देखाएको छ । इराकको विश्वकप २०२६ को तालिका निकै चुनौतीपूर्ण छ। समूह 'आई' मा रहेको इराकले आफ्नो पहिलो खेल जुन १६ मा नर्वेविरुद्ध खेल्नेछ ।
विश्वकपको दोस्रो खेलमा इराकले जुन २२ मा फ्रान्सको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा उसले जुन २६ मा सेनेगलविरुद्ध खेल्नेछ । विश्वको सबैभन्दा ठूलो मञ्चमा गर्जनका लागि तयार रहेको "लायन्स अफ मेसोपोटामिया" ले पछिल्लो समय सामाजिक सञ्जालमा नयाँ लहर ल्याएको छ ।
इराकी फ्यानहरूले पनि आफ्नो राष्ट्रिय पहिचान र गौरवलाई डिजिटल प्लेटफर्ममार्फत विश्वभर फैलाइरहेका छन् । क्षेत्रीय तनाव र युद्धको छायाका बीच पनि यो छनोटले इराकलाई एउटा आशाको किरण दिएको छ । ४० वर्षअघि अहमद राधीले देखाएको बाटोमा हिँड्दै यो नयाँ पुस्ता विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।