उच्च शिक्षा र बेरोजगारी : बजारसँग नमिल्दो पाठ्यक्रमले बढाउँदै चुनौती

जेष्ठ २२, २०८३ |नारायण किलम्बू
उच्च शिक्षा र बेरोजगारी : बजारसँग नमिल्दो पाठ्यक्रमले बढाउँदै चुनौती

काठमाडौं । संघ र प्रदेशका २१ वटा विश्वविद्यालयबाट बर्सेनि १ लाख २० हजार विद्यार्थीले उच्च शिक्षा पुरा गर्छन् । तर, उनीहरुले पाएका शिक्षा बजारको आवश्यकताअनुसारको हुन नसक्दा अधिकांश बेरोजगार बन्न बाध्य छन् । 

यही अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयहरुले उच्च शिक्षालाई रोजगारीसँग जोड्नेगरी समयानुकूल पाठ्यक्रम परिमार्जन र लागू गर्न थालेका छन् । पाँच वर्षअघि सिभिल इन्जिनियरिङ पूरा गरे पनि कालिकोटका मनोज चौलागाई यतिखेर कामको खोजीमा भौतारिइरहनुभएको छ । 

एक त पहुँच अभाव, अर्कोतिर काम पाए पनि तलब निकै थोरै हुने हुँदा बेरोजगार बस्नुपरेको पीडा उहाँमा छ । संघ र प्रदेशका २१ वटा विश्वविद्यालयबाट बर्सेनि एक लाख २० हजार विद्यार्थीले उच्च शिक्षा पुरा गर्छन् । तर, विश्वविद्यालयहरुले पाठ्यक्रम समयानुकूल र बजारको आवश्यकतासँग जोड्न नसक्दा धेरै विद्यार्थीले उच्च शिक्षा हासिल गरे पनि काम नपाउने समस्या गहिरिँदै गएको छ ।

अहिले पनि उच्च शिक्षाका धेरैजसो संकायका पाठ्यक्रम सैद्धान्तिक शिक्षामा केन्द्रित छन् । उच्च शिक्षा हासिल गरेका धेरै विद्यार्थी बेरोजगार हुनुपरिरहेको तथ्यलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले रोजगारसँग जोड्नेगरी पाठ्यक्रम परिमार्जन थालेको छ । 

विदेश जाने विद्यार्थीलाई स्वेदशमै स्तरीय शिक्षा दिनेगरी समयानुकूल पाठ्यक्रम परिमार्जनसँगै सोही अनुसारको नयाँ शैक्षिक कार्यक्रम अघि ल्याएको त्रिविको दाबी छ । यसका साथै त्रिविले शिक्षा, मानविकी, विज्ञान, इन्जिनियरिङलगायत संकायमा सूचना प्रविधि, एआई कृत्रिम बुद्धिमत्ता जस्ता विधालाई समेट्दै अध्ययन अध्यापन गर्न थालेको कार्यवाहक उपकुलपति सुशीलबहादुर बज्राचार्यको दाबी छ ।

त्यसो त पछिल्लो समय त्रिविले स्वदेश तथा विदेशका विभिन्न उद्योगहरुसँग सम्झौता गरी विद्यार्थीलाई प्रोत्साहन गर्न इन्टर्नसीपसँगै रोजगारीको व्यवस्था मिलाउन थालेको छ । अघिल्लो सातामात्र विश्वविद्यालयले फ्रान्सको ठूलो हवाइजहाई कम्पनी एयरवससँग सम्झौता गरी इन्जिनियरिङका विद्यार्थीलाई इन्टर्नसीपसँगै रोजगारीको अवसर सिर्जना गर्ने काम थालनी गरेको छ ।

उच्चशिक्षा हासिल गरेका करिव ३० प्रतिशत विद्यार्थीले मात्र रोजगारी प्राप्त गर्ने गरेका अनुमान छ । यसका अलावा विश्वविद्यालयका धेरैजसो क्याम्पसहरुमा आर्थिक अभावमा पुराना भवन, प्रयोगशाला पुनर्निर्माण गर्न नसक्नु समस्याका रुपमा रहेका छन् । 

नेपालबाट हरेक वर्ष करिब एक लाख १० हजार विध्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । मुलुकको लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आएका विश्वविद्यालयहरुले पूर्वाधारको पुनर्निर्माणसँगै बजारको आवश्यकता र माग अनुसारको उद्योग र उद्यमशिलतासँग गुणस्तरीय शिक्षा दिनसके विद्यार्थीको आकर्षण र विदेशिने विद्यार्थी रोक्न सकिने सम्भावना छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।