एक वर्षमा १३२ गर्भवती र सुत्केरीको हवाई उद्धार

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एक वर्षमा १३२ गर्भवती र सुत्केरीको हवाई उद्धार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक वर्ष अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १ सय ३२ जनाको हवाई उद्धार गरेको छ ।

मन्त्री नवलकिशोर साह सुडीले बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा यो अवधिमा उद्दार गरिएका गर्भवती तथा सुत्केरीको तथ्यांक सार्वजनिक गर्नुभएको हो । 

उहाँले हिंसापीडित महिला तथा किशोरीहरूलाई सुरक्षित रूपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको 'मंगला सहाना दीर्घकालीन पुनर्स्थापना केन्द्र' मा १८ जनालाई सेवा प्रवाह भइरहेको जानकारी पनि दिनुभयो ।

उहाँले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा 'खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं' सडक नाटक प्रदर्शन गरिएको तथा सातौं महिला अधिकार दिवसका अवसरमा प्रत्येक प्रदेशबाट १-१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताउनु भयो । 

पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरूलाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको र १ सय ३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरूको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री सुडीका अनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको पनि उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.