काठमाडौं । भारत र नेपालको गृह सचिवस्तरीय बैठकले सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आपसी कानुनी सहायताजस्ता बहुपक्षीय सुरक्षाका विषयमा सहकार्य गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
भारतको नयाँ दिल्लीमा सम्पन्न गृहसचिवस्तरीय वार्तामा मानव बेचबिखन तथा सीमापार लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा प्राथमिकताका साथ छलफल भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो।
सीमामा निगरानी तथा जाँच प्रणालीलाई सुदृढ बनाउने, समयमै अपराधसम्बन्धी सूचना आदानप्रदान गर्ने र विपद् व्यवस्थापनमा सहकार्य अभिवृद्धि गर्ने, निर्णय पनि बैठकले गरेको छ । सीमा क्षेत्रका स्तम्भहरुको निर्माण तथा मर्मतका विषयमा पनि नेपाल र भारतबीच छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।