काठमाडौं । प्रतिनिधि सभाको बैठक सांसदहरूले मधेश प्रदेशमा सुख्खा क्षेत्र घोषणा गरेर मात्रै नहुने भन्दै तत्काल विशेष प्याकेज घोषणा गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा सांसदहरूले सरकारले मधेशका किसानका लागि राहतको व्यवस्था गर्नुपर्ने र विशेष कार्यक्रम तथा बजेटसमेत माग गरेका छन् । तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण पनि गरेका छन ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज पनि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन् । उनीहरूले करिब २ महिनादेखि संसद्मा निरन्तर अबरोध गरिरहेका छन् । सरकार गठन गर्दाका वाचा पूरा नगरेको र निरन्तर सुशासनमाथि प्रश्न उठेकाले सरकारको औचित्य नभएको उनीहरूको भनाइ छ ।
त्यसैगरी विपक्षी दलहरूले अहिलेको मन्त्रिपरिषद् भ्रष्ट र विवादित भएको टिप्पणी गरेका छन् । भ्रष्टाचार नगर्ने र हुन नदिने वाचा प्रधानमन्त्रीले गरे पनि व्यवहारमा नदेखिएको सांसदहरूको भनाइ छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।