कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरू सम्पन्न भइसकेः जीवन परियार

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरू सम्पन्न भइसकेः जीवन परियार

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकले विज्ञको रूपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानबिन प्रक्रिया अघि बढाएको हो । बैठकपछि समितिका संयोजक जीवन परियारले आज १२औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३औं दिन भएको बताउनु भयो । 

उहाँले विगतमा कसरी र के काम भए, बाँकी कामहरू कसरी अघि बढाउने, छानबिनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । 

समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रूमपा आजको बैठकदेखि समितिमै राखेर काम सुरू गरेको उहाँले बताउनु भयो । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग गर्नका लागि बोलाइएको उहाँले बताउनु भयो ।

उहाँले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको उहाँकाे भनाइ छ । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.