ह्विलचेयरमा जीवन रंगाउने चित्रवीरको संघर्ष गाथा: अपाङ्गता जितेर आत्मनिर्भर

श्रावण १, २०८२ |विप्लव भट्टराई
ह्विलचेयरमा जीवन रंगाउने चित्रवीरको संघर्ष गाथा: अपाङ्गता जितेर आत्मनिर्भर

इलाम। नाम चित्रवीर गुरूङ । उमेर ४० वर्ष। ठेगाना- सन्दकपुर गाउँपालिका वडा नम्बर ४ माबु , इलाम। 

चित्रवीरको घर सदरमुकामदेखि २५ किलोमिटर टाढा छ। चित्रवीरलाई ह्विलचेयरमा सदरमुकामसम्म पुग्नुपर्‍यो भने कति सहज छ, भन्न सकिँदैन । हार मानेका भए उहाँको आजको जीवन कस्तो हुन्थ्यो ? सायद चित्रवीरसँगको पनि त्यसको चित्र छैन। तर चित्रवीर आजभोलि खुशी हुनुहुन्छ। 

आफ्नै संघर्षको बलमा उहाँले आफ्नो जीवनको चित्रलाई सुन्दर रंगले भर्नुभएको छ। आज उहाँसँग नियमित र पुग्दो आम्दानी गर्ने पेशा छ, आफ्नै कमाइले बनाएको घर छ र जोकसैले उत्प्रेरणा लिन सक्ने आत्मविश्वास र आत्मनिर्भरता छ। 

छ पटकको शरिरका विभिन्न जोर्नीहरूको अप्रेसनपछि पुर्नजीवन पाउनुभएका ४० वर्षीय चित्रवीरको नियति र संघर्षले सिंगो समाजलाई सोचमग्न पार्छ । हृविलचियर विना कहीाकतै चल्नै नसक्ने चित्रवीरले भर्खरै आफ्नै घर बनाउनुभएको छ । 

केही आफ्नै बचत र थप विभिन्न दाताको सहयोगले घर बनाउनु भएका चित्रवीर आफ्नो पुरानै पेशा डेस्कटप सञ्चालन गरेर औषधी र हातमुख जार्ने खर्च जुटाउने मेलो गर्नुहुन्छ ।

जीवन गुजाराकै लागि कम्प्युटर चलाउनु, फाटो खिँच्नु, फोटोकपी गर्नु र स्टेशनरी सामग्री बेच्नु चित्रवीरको दैनिकी हो । अक्सर महिना दुई महिनामा स्वास्थ्य उपचारका लागि काठमाडौं धाउनुपर्ने र कुन बेला स्वास्थ्यमा कस्तो समस्या आउाछ भन्ने टुङ्गो नहाुदा ठूलो समस्या पर्नेगरे पनि सन्दकपुर ४ मावुको वडा कार्यालय नजिकै घर बनाउनु भएका चित्रवीर जीवनकै ठूलो खुशी मिलेकोमा दंग हुनुहुन्छ ।

बाथ रोगका कारण सबैतिरका जोर्नीमा समस्या भएपछि उहाँलाई हिमालयन हेल्थकेयरले यत्तिसम्मको बनाएको हो । विभिन्न शुभेच्छुक र गाउापालिकाको सहयोगमा बनाइएको सानो कोठामा गुरूङले वर्षौ बिताउनुभयो । चित्रवीरको अथक मिहिनेत र इच्छाशक्ति देखेर स्थानीय पनि अचम्भित हुन्छन् ।

सन्दकपुर गाउँपालिका ४ मावुमा जन्मिएका चित्रविरले वालापनदेखि नै परिवारको माया पाएनन् । शारिकरूपले अशक्त भएर पनि एक्लै जीवन बाँच्न अठोट गर्ने चित्रवीरको कथा धेरैलाई प्रेरणा बन्नसक्छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।