काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षणलाई तीव्रता दिएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले आइतबार प्रारम्भिक चरणमा ३२ सदस्यीय टोली घोषणा गरेसँगै मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीको प्रशिक्षण सुरू गरेका हुन् । बिहीवारको प्रशिक्षणमा सबै खेलाडी सहभागी नभए पनि उपलब्ध खेलाडीहरूसँग लले अभ्यास सत्र अघि बढाएका छन् ।
हाल टीयू क्रिकेट मैदान निर्माणाधीन अवस्थामा रहेको र वर्षाका कारण मैदान प्रयोगमा नआउँदा टोलीले फिल्डिङ अभ्यास तथा इन्डोर ट्रेनिङमा ध्यान केन्द्रित गरिरहेको छ ।
छनोट प्रतियोगिताअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्ने छ । त्यहाँ नेपालले बंगलादेश र पाकिस्तानको 'ए' टोली सहभागि हुँने टप एन्ड टी-२० प्रतियोगिता खेल्ने छ । त्यसपछि युएईमा वेस्ट इन्डिजसँग ३ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ ।
यी खेलहरू नेपालले टी-२० विश्वकप छनोटको तयारीका लागी खेल्न लागेको हो । छनोट प्रतियोगितामा सहभागि ९ राष्ट्रलाई तीन समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउने छन् ।
सुपर सिक्सको शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउने छन् । नेपालले समूह चरणमा कुवेत र जापानको सामना गर्नेछ । नेपाली टोली लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउने लक्ष्य सहित प्रशिक्षणमा व्यस्त छ ।