सप्तरी । तिरहुत टाइगर्सले लगातार दोस्रो पटक सप्तरी प्राइड लिगको उपाधि जितेको छ । बिहिबार सम्पन्न सातौँ संस्करणको उपाधि भिडन्तमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले सहजै पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राजदेवी रोयलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो ।
उसका लागी रोहन विकले सर्वाधिक २३ रन जोडे । अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । टाइगर्सका लागी श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । चित्रबहादुर बिस्ट र अनिल यादवले समान २-२ विकेट हात पारे।
जवाफमा ९३ रनको सामान्य लक्ष्य टाइगर्सले १५ ओभर ३ बलमा केवल १ विकेटको क्षतिमा पूरा गर्यो । अभिनाश कर्ण १३ रनमा आउट भए । भोला शाहले अविजित अर्धशतकीय योगदान दिँदै जितमा निर्णायक योगदान दिए ।
उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५२ रन बनाएका थिए । भोला र निरज यादवबीच दोस्रो विकेटका लागि ७९ रनको साझेदारी भएको थियो । निरज १८ रनमा अविजित रहे । राजदेवीका नितेश यादवले एक विकेट लिएका थिए ।
यससंगै तिरहुत टाइगर्सले ट्रफीसँगै नगद २ लाख रूपैयाँ प्राप्त गर्यो । उपविजेता राजदेवी रोयलले १ लाख रूपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजदेवी रोयलका दिवान पुन घोषित भए ।
उनले ४ खेलमा १०१ रन बनाउनुका साथै ६ विकेट पनि लिएका थिए । पुनलाई २५ हजार रूपैयाँ प्रदान गरियो ।