साफ अन्डर-ट्वेन्टी महिला च्याम्पियनसीप : श्रीलंकाविरूद्ध नेपालको जित, उपाधि जित्ने सम्भावना कायमै

श्रावण १, २०८२ |खेल ब्युरो
साफ अन्डर-ट्वेन्टी महिला च्याम्पियनसीप : श्रीलंकाविरूद्ध नेपालको जित, उपाधि जित्ने सम्भावना कायमै

काठमाडौं । साफ अन्डर-२० महिला च्याम्पियनसीपको दोस्रो चरणमा नेपालले श्रीलंकाविरूद्ध ७-० को शानदार जित हात पारेको छ । नेपालले पहिलो चरणमा समेत यही स्कोर लाइनमा श्रीलंकालाई पराजित गरेको थियो ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा नेपालका लागि समीक्षा मगरले २ गोल गर्दा पूर्णिमा राई, कुसुम खतिवडा, सरिताकुमारी नाथ र बिर्सना चौधरीले समान एक-एक गोल गरे । श्रीलंकाली खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले उपहारस्वरूप एक गोल प्राप्त गर्‍यो ।

खेलको १५औं मिनेटमा नेपालले अग्रता बनाएको थियो । पूर्णिमा राईले रिबाउन्डमा गोल गरेकी थिइन् । ३५औं मिनेटमा कुसुम खतिवडाले बक्स नजिकैबाट गरेको सटले जाली चुम्दा नेपालले अग्रता दोब्बर बनायो । 

४३औं मिनेटमा सरिता नाथले प्रहार गरेको फ्रिकिक दुई पटक बाउन्स हुँदै गोलमा परिणत भयो । पहिलो हाफको अन्त्यतिर श्रीलंकन खेलाडीले आत्मघाती गोल गरेपछि नेपाल ४-० ले अघि रह्यो ।

६७औं मिनेटमा सुशीला केसीलाई बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा बिर्सना चौधरीले सहजै गोल गरिन् । ७४औं मिनेटमा सरिता नाथको प्रहार क्रसबारमा लागेर फर्किएपछि समीक्षाले रिबाउन्डमा गोल गरिन् । 

त्यसपछि ७८औं मिनेटमा समीक्षाले व्यक्तिगत दोस्रो गोल थपिन् । खेलको अन्त्यतिर नेपालले अर्को पेनाल्टी पाएको थियो । तर सुशीला केसीको प्रहारलाई श्रीलंकाकी गोलकिपरले रोकेपछि नेपालले ७-० को फराकिलो जित सुरक्षित गर्‍यो । 

नेपालले अब शनिबार भुटानसँग खेल्नेछ । अन्तिम खेलमा जुलाई २९ मा बंगलादेशको सामना गर्नेछ ।