काठमाडौं । इराकको कुट शहरस्थित एउटा शपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
पाँच दिनअघि मात्रै सञ्चालनमा आएको उक्त शपिङ मलमा बुधबार राति अचानक आगलागी भएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको जनाइएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा अग्नि नियन्त्रकहरूले मलका छतबाट मानिसहरूको उद्धार गरिरहेको दृश्य देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दोस्रो तलामा रहेको एअर कन्डिशनर एकाएक विस्फोट भएर आगो लागेको उल्लेख गरेका छन् ।
इराकी सरकारी सञ्चारमाध्यमले भने अहिले पनि थुप्रै मानिस हराइरहेको जनाएको छ । क्षेत्रीय गभर्नर मोहम्मद अल मियाहीले एउटा दुर्भाग्यपूर्ण घटना र विपत्ति आइपरेको भन्दै शपिङ सेन्टरका मालिकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
उहाँले घटनाको अनुसन्धान जारी रहेको र दुई दिनभित्रै प्रारम्भिक प्रतिवेदन आउने अपेक्षा गरिएको समेत बताउनुभएको छ । साथै उहाँले तीन दिने शोकको घोषणा गर्नुभएको छ । कुट शहर राजधानी बग्दादबाट करिब १ सय ६० किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।