विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा सांसदहरूको जोड

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जनताको करमा विदेश भ्रमण गर्ने तर उपलब्धी नहुने वा विदेशमा सिकेका संसदीय अभ्यासहरू नेपालमा आएर लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरूरी रहेको बताउनुभएको हो । 

बिहीबार सिंहरदरबारमा बसेको नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उहाँले विदेश जाने कुरा जानका लागि जाने मात्रैमा सिमित हुन नहुने बताउनु भयो । 

विदेश भ्रमणबाट देशलाई के लाभ भयो भन्नेकुरा महत्वपूर्ण हुने पनि उहाँकाे भनाइ छ । नेपाल चेम्बर अफ कमर्सको विधान लण्डन चेम्बर अफ कमर्सको विधान सापटी लिएर बनाइएको पनि उहाँले बताउनु भयो ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले कानून बनाइसकेपछि कार्यान्वयन भए/नभएको बारेमा अध्ययन गर्न जरूरी रहेको बताउनु भयो । उहाँले उत्तर विधायिकी परीक्षण धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।

व्यवसायी राजेन्द्र खेतानले बेलायती नेपालीहरूको चाहना नेपालको माटोमा लगानी गर्ने रहेको बताउनु भयो । उहाँले लगभग एक लाख नेपाली बेलायतमा भायब्रेण्ट सोसाइटीको रूपमा रहेको र उनीहरू नेपालमा लगानी गर्ने चाहनामा बसेको बताउनु भयो ।

उहाँले बेलायतमा रहेका नेपालीहरू आर्थिक अवस्थामा धेरै सुदृढ रहेकोले नेपालमा लगानी गर्ने चाहनालाई नेपाल सरकारले उचित वातावरण मिलाएर अघि बढाउनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.