सर्लाहीको नवलपुरमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुईजना घाइते

श्रावण १, २०८२ |ओमप्रकाश ठाकुर
सर्लाहीको नवलपुरमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुईजना घाइते

सर्लाही । सर्लाहीको नवलपुरस्थित एक उद्योगमा बिहिवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१नवलपुरस्थित लखनदेही पुल नजिकै रहेको न्यु माँ राजदेबी खाद्य उद्योगमा रोकिराखेको ट्रकबाट त्रिपाल हटाउंदा करेन्ट लाग्दा रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटबाट धानको भुस लिन आएका ना. ६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा ट्रकको माथिल्लो भागमा ११ हजार भोल्टको विद्युत् तारमा छोइएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि घाइतेरुलाई तत्कालै हरिवनस्थित नमुना अस्पताल पठाइएकोमा उपचारको क्रममा पासवानको मृत्यु भएको हो ।मृतक पासवान ट्रकका सहचालक रहेको खुलेको छ । त्यस्तै, ट्रकमा काम गरिरहेका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान करेन्ट लागेर घाइते भएका छन्। दुबैको हात र खुट्टामा चोट लागेको छ र अहिले उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

ट्रकका चालक पर्सा, वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमदसमेत उपचारमा संलग्न छन् भने ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ।


Image

ओमप्रकाश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका सर्लाही संवाददाता हुन् ।