आज साउने संक्रान्ति पर्व मनाइँदै

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज साउने संक्रान्ति पर्व मनाइँदै

काठमाडौँ । साउन महिनाको पहिलो दिन आज साउने संक्रान्ति पर्व मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज साउने संक्रान्ति मनाउने प्रचलन छ । परम्पराअनुसार स्नान, दान र आफन्त जम्मा भई रमाइलो गरी मनाइन्छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

असार महिनाभर धान रोपाइँलगायत खेतीपातीमा व्यस्त किसानले आजको दिन हिलोमैलो पखाल्ने तथा हिलोमैलोका कारण छालासम्बन्धी रोग नलागोस् भनेर ‘लुतो फाल्ने’ चलन पनि छ ।

हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रीविदको भनाइ छ ।

परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भिड लाग्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.