काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको भनिएको अडियोमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
अख्तियारले सार्वजनिक भएको अडियोमा बोल्ने गुप्ता र पैसाको प्रस्ताव राख्ने विचौलियाको अडियोको फरेन्सिक परीक्षण गर्न पठाएको हो । कास्की मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतिका लागि ५३ लाख र भूमि आयोगको सदस्य नियुक्तिका लागि २५ लाख रूपैयाँ माग गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरू गरेको हो ।
सार्वजनिक भएको अडियोको फरेन्सिक परीक्षण प्रतिवेदन भएपछि सार्वजनिक जग्गा हडप्न सक्रिय रहेको आरोप लागेका सबैमाथि अनुसन्धान हुने अख्तियार स्रोतले जनाएको छ ।
पैसाको नोट नम्बरसहित उजुरी आएकाले पैसा बुझाएको स्थान लगायतका विषयमा विस्तृत अनुसन्धान हुने छ । अडियो डिल गत पुसमा भएकाले त्यति बेलाको सबै तथ्य संकलन र कास्कीको हडप्न खोजेको भनिएको जग्गासम्बन्धी पनि अख्तियारले अनुसन्धान गर्ने छ ।
गुप्ताले नाम लिएको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको संलग्न माथि पनि अनुसन्धान गर्नुपर्ने छ ।