सिद्धबाबा सुरुङ्मार्गको काममा ढिलासुस्ती, २०८३ चैतमा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति साढे ५७ प्रतिशत

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिद्धबाबा सुरुङ्मार्गको काममा ढिलासुस्ती, २०८३ चैतमा सक्नुपर्ने आयोजनाको भौतिक प्रगति साढे ५७ प्रतिशत

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरूङ्मार्गको मुख्य टनेलको काम निर्धारित समयमै भए पनि रक ब्यारियर र रकनेटको काममा भने ढिलासुस्ती भएको छ ।

११ सय २६ मिटरको सुरूङले मात्रै सिद्धबाबा सडक खण्डको जोखिम कम नगर्ने भएकाले तल्लो र माथिल्लो भागका साथै सुरूङको बाहिरको पुरानो सडकमा जोखिम न्यूनीकरण विधि अपनाउने गरी ठेक्का भएको छ । 

उत्तरी दोभानतर्फ केही भागमा आयोजनाले स्लोप स्टेबलाइजेसन र रक ब्यारिएरको काम सुरू गरे पनि ढिलाइ गरेको छ । भुइँ ढलानको काम सकेको निर्माण कम्पनीले मुख्य टनेलकै भित्री सुरूङको पर्खालमा गरिने संरचनात्मक लेपनको काम ९ सय १८ मिटर सकेको छ ।

निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । उसले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । 

यो आयोजना ५ वर्षभित्र सम्पन्न गर्ने गरी २०७८ फागुनमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजना कार्यालयका अनुसार असार २७ गतेसम्म सुरूङमार्गको भौतिक प्रगति साढे ५७ प्रतिशत सकिएको छ । वित्तीय प्रगति ५१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.