काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा भएको त्रुटिबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासँग सोधपुछ गरेको छ ।
विशेष समितिको बुधबार बसेको बैठकले कुलिङ अफ पिरियडमा भएको जालासाजीबारे समिति सभापति खतिवडासँग सोधपुछ गरेको हो । त्यसक्रममा खतिवडाले कर्मचारीलाई विश्वास गर्दा विधेयकमा त्रुटि भएको बताउनुभयो ।
उहाँले आफू राजनीतिक व्यक्ति भएकाले कानुनी भाषा मिलाउन कर्मचारीलाई लगाउँदा विश्वासघात भएको बयान दिनुभएको समितिका सदस्यहरूले बताएका छन् । कुलिङ अफ पिरियड हटाउन कर्मचारीले घेराबन्दी गरेकाले संसद्मा पठाउन आफूले छलफल नचलाई हतार गरेको सभापति खतिवडाले जानकारी दिनुभएको हो ।
आजै संविधानविद् काशीराज दाहालसँग पनि विशेष समितिले छलफल गरेको छ । यसअघि समितिले कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीसँग सोधपुछ गरेको थियो ।
त्यस क्रममा कर्मचारीहरूले अन्तिम प्रतिवेदन आफूहरूले हेर्न नपाएको बताएका थिए । कर्मचारीले सभापतिलाई र सभापतिले कर्मचारीलाई दोष दिएर उम्किन खोजेको देखिएको छ ।
विशेष समितिले भोलि राज्य व्यवस्था समितिका सदस्यहरू र निजामती सेवा विधेयकमा छलफल गर्न बनाइएको उपसमितिसँग सोधपुछ गर्ने भएको छ ।
कुलिङ पिरियडमा जालसाजी गर्नेहरू पत्ता लगाएर कारबाही गर्न विशेष समितिले छानबिन गरिरहेको छ । समितिले विधेयकको प्रतिवेदन बनाउन संलग्नलाई बोलाएर सोधपुछ गरिरहेको हो ।