बीपी राजमार्गमा आजदेखि एक महिनासम्म रातिमा गाडी चलाउन नपाइने

श्रावण १, २०८२ |पुजन धिताल
बीपी राजमार्गमा आजदेखि एक महिनासम्म रातिमा गाडी चलाउन नपाइने

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले आजदेखि लागू हुने गरि काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्मको सडकखण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो। उक्त निर्णय अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आजदेखि एक महिनासम्म सवारी चलाउन पाईने छैन । यस अघि असार ४ मा र २२ गते १ महिनाका लागि भन्दै प्रशासनले साँझ साढे ६ बजदेखि विहान ५ बजेसम्म निजि तथा सार्वजनिक यातायात सन्चालनमा रोक लगाएको थियो । प्रशासनले हाल मनसुन सक्रिय रहेकाले पहिरो, कटानजस्ता सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै यात्रुको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न यो निर्णय गरिएको जनाएको छ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताउनुभयो ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो ।

निर्णयको कार्यान्वयन भएसँगै यात्रु र सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था मिलाउन तथा प्रशासनले तोकेको समयसीमामा यात्रा नगर्न अनुरोध गरिएको छ। यता ट्राफिक प्रहरी कार्यलयले राजमार्ग हुँदै यात्रा गर्दा राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सवारी चालक र यात्रुमा अनुरोध समेत गर्दै आएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।