अत्यावश्यकबाहेक बिदामा नबस्न कर्मचारीहरूलाई सुदूरका मुख्यमन्त्रीको निर्देशन

लगानी सम्मेलनको तयारीमा जुट्न आह्वान
असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अत्यावश्यकबाहेक बिदामा नबस्न कर्मचारीहरूलाई सुदूरका मुख्यमन्त्रीको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले अत्यावश्यकबाहेक अन्य बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । 

असोज १ र २ गते लगानी तथा विकास सम्मेलनमा प्रदेश सरकार जुटेकाले अत्यावश्यकबाहेक बिदामा नबस्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको हो । उहाँले प्रमुख सचिव डा. कमलप्रसाद पोखरेललाई मातहतका निकायमा निर्देशन परिपत्र गर्न निर्देशन दिनुभएको छ । 

लगानी तथा विकास सम्मेलन सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुहुँदै मुख्यमन्त्री शाहले प्रदेशमा लगानीमैत्री वातावरण बनाई लगानीकर्तामा विश्वासको वातावरण सिर्जना गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि कोशेढुङ्गा साबित हुने प्रदेश सरकारको दाबी छ । सम्मेलनबाट पूर्वाधार विकास, पर्यटन विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, कृषि तथा वन उपजमा मूल्य अभिवृद्धि, सीमा व्यापार तथा अन्तरदेशीय आर्थिक साझेदारीलगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.