जनकपुर । धनुषामा पुस्तैनी बासेबास गर्दै आएका सीमान्तकृत मुसहर समुदायलाई मूलधारमा ल्याउन स्थानीय तहले धमाधम पक्की घर बनाउन थालेको छ ।
राष्ट्रिय योजना आयोगको सिफारिसमा संघीय सरकारको विशेष अनुदानबाट बनेका पक्की घर पाउने भएपछि प्रत्येक वर्ष छाप्रो छाउने र बर्खामा चुहिने समस्याबाट मुक्त हुने आशामा रहेका यो समुदायका अगुवा अब बालबालिकालाई पढाउने योजनामा छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि १२ किलोमिटर पूर्वमा रहेको यो धनुषाको विदेह नगरपालिकाअन्तर्गत पर्ने मुसहर बस्ती हो । लामो समयदेखि यसैबी बस्तीमा बसोबास गर्दै आउनुभएकी ५० वर्षीया जलेश्वरी सदा आजकल निकै खुसी हुनुहुन्छ । ५ दशक छाप्रोमै गुजारा गर्नुभएकी जलेश्वरीमा अब पक्कीघर पाउने भएपछि खुसीको सीमा छैन ।
साहु महाजनको खेतबारीमा मजदुरी गरी परिवारको पालनपोषण गर्दै आउनुभएका प्रमोद सदालाई पनि वर्षेनी छाप्रो छाउने र वर्षामा घर चुहिने चिन्ताले सताउने गरेको थियो । तर, अब पक्की घरको छत ढलान भइसकेको र प्लास्टर मात्र बााकी रहेको देखेर ४० वर्षीय प्रमोद पनि निकै खुसी हुनुहुन्छ ।
आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिकरूपमा पछि पारिएको मुसहर समुदायको जीवनस्तर उकास्न राष्ट्रिय योजना आयोगको विशेष अनुदान सहयोगमा विदेह नगरपालिकाले ६ करोड ८८ लाखभन्दा बढिको लागतमा ५६ वटा पक्की घर निर्माण गर्न लागेको हो ।
साहुको खेतबारीमा मजदुरी गर्नुका साथै घोंघी, गंगटो, माछा र मुसा मारेर गुजारा गर्दै आएको मुसहर समुदायको वैदेही रेल्वे स्टेशनको छेउमै १ सय १७ घरधुरी बासेबास छ ।
छिमेकीको घर बन्दै गरेको देखेर बााकी ६१ घर परिवारमा पनि पक्की घर पाउने आशा पलाएको छ । पछिल्लो समय यस समुदायका युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जानुका साथै भारतका विभिन्न शहर पुगी रोजगारी गर्न थालेपछि समय परिवर्तनसँगै विस्तारै दैनिक जीवनमा पनि केही हदसम्म विकास हुनथालेको छ ।