पेस्तोलसहित दुई जना पक्राउ

असार ३२, २०८२ |सुशीला पाठक
पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नम्बर चार हटिया टोलबाट बुधबार पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले दिनेश मण्डलको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान पेस्तोल फेला परेको जानकारी दिनु भयो । 

उहाँकाअनुसार हतियार राखेको सूचनाका आधारमा घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाइ ‘मेड इन जापान’ लेखिएको एक थान सिक्सर पेस्तोल, हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको छ ।

पेस्तो लुकाइ राखेको आरोपमा जहदा वडा नम्बर चार का १९ वर्षीय हरिकुमार महतो र सोही ठाउँका आशिष मण्डललाई पक्राउ गरेको डिएसपी चुँडालले बताउनु भयो । 

सोही ठाउँका अर्का २० वर्षीय मुकेशकुमार महतो पनि संलग्न भए पनि फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर प्लेट प्रस्ट नदेखिने एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

पक्राउ परेका हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परी सजाय भुक्तान गरेर एक महिनाअघि मात्रै जेलबाट छुटेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय रंगेलीमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।