झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अर्जुनधारा नगरपालिकामा बुधबार अव्यवस्थित बसोवासीहरूलाई धनीपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद्बाट भूमिसम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौँदेखि थाती रहेका भूमि समस्याको समाधान हुने बताउनुभयो ।
उहाँले सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महङ्गो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको स्मरण गर्नुभयो । वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको उहाँले बताउनुभयो ।
अर्जुनधारा नगरपालिका-११ का ९६ जना अव्यवस्थित बसोवासीलाई आज जग्गाको धनीपूर्जा वितरण गरिएको छ । सभामुख घिमिरेले अव्यवस्थित बसोबासीमध्ये १० जना ज्येष्ठ नागरिकलाई जग्गाको धनीपूर्जा वितरण गर्नुभएको थियो ।-रासस