काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद् र यसका समितिमार्फत् आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खवरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो ।