वनमन्त्री ठकुरीकाे एक वर्ष: ४१ हजारलाई रोजगारी, ११ अर्ब वैदेशिक सहयोग

एक वर्षमा हरित क्षेत्रको उल्लेखनीय प्रगति
असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वनमन्त्री ठकुरीकाे एक वर्ष: ४१ हजारलाई रोजगारी, ११ अर्ब वैदेशिक सहयोग

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षको अवधिमा वन क्षेत्रबाट ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको बताउनुभएको छ ।

मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ठकुरीले आफ्नो नेतृत्वमा वन क्षेत्रको संरक्षण र सन्तुलित विकास गर्न सफल भएको दाबी गर्नुभयो । 

मन्त्रालयले हरित अर्थतन्त्रको दिशा अवलम्वन गर्दै आवश्यक कानुनी सुधार गरेको उहाँले जानकारी दिनुभयो । मन्त्रालय र मातहतका विभाग, कार्यालयहरूको नीतिगत तथा प्रकृयागत सुधार गरी सेवा लिन सहज बनाएको जिकिर पनि उहाँको छ । 

मन्त्री ठकुरीले ४ वटा महत्वपूर्ण रणनीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको, ११ वटा कानूनी दस्तावेज संशोधन तथा सुधार गरेको बताउनुभयो । उहाँले तेस्रो राष्ट्रिय निर्धारित योगदान एनडीसी जारी हुनुलाई पनि उपलब्धिको सूचीमा राख्नुभएको छ ।

मन्त्रालयले एक वर्षमा ४१ वटा विकास आयोजनालाई ६ सय ८ दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिएर त्यहाँ रहेको १ लाख ३ हजार ७ सय ६० वटा रूख हटाउन अनुमति दिएको छ । 

मन्त्रालयले एक वर्षमा २० वटा वातावरण प्रभाव मुल्यांकन इआए, ३० वटा क्षेत्र तथा कार्यसूची निर्धारण, ५ वटा पुरक वातावरण प्रभाव मूल्यांकन, ९ वटा परिमार्जित वातावरण व्यवस्थापन योजना स्वीकृत गरेको छ । 

मन्त्री ठकुरीले एक वर्षभित्र वन डढेलोको विमा कार्यक्रममार्फत् ४ सय ९६ जनाको सामुहिक दुर्घटना बिमा गरेको, हिउँचितुवा गणना, ६ सयभन्दा बढी समस्याग्रस्त वन्यजन्तुको उद्धार र व्यवस्थापन गरेको र मानव वन्यजन्तु द्वन्द्वको क्षतिपूर्तिवापत ७ करोड १३ लाख राहत वितरण गरेको जानकारी दिनुभयो ।

मन्त्री ठकुरीले १ हजार हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन, ६ सय १३ स्थानमा पानीको स्रोतको संरक्षण गरिएको पनि बताउनुभयो । उहाँले एक वर्षमा करिब ११ अर्ब रुपैयाँ वन तथा वातावरण क्षेत्रमा वैदेशिक सहयोग भित्रिएको पनि जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.