संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । 

संविधानको कार्यान्वयन, सुशासन कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानूनहरूलाई पूर्णता दिने र नयाँ ऐन निर्माणमा सरकार सक्रियताका साथ लागिरहेको उहाँले जिकिर गर्नुभयो । 

उहाँले आमाको नामबाट नागरिकता दिने प्रयोजनको लागि नागरिकतासम्बन्धी ऐन संशोधन गर्न लागिएको स्पष्ट पार्नुभयो । बाबु नभएको तथा बाबुले अपनत्व नलिएको अवस्थामा सन्तानलाई आमाको नामबाटै नागरिकता दिनको लागि ऐन संशोधन गर्न लागिएको उहाँको जिकिर छ । 

बाबु विदेशी भएपनि नेपाली आमाबाट जन्मिएको सन्तानलाई अंगिकृत नागरिकता दिन सकिने व्यवस्था विधेयकमा समावेश गरिएको उहाँको भनाइ छ ।

उहाँले नागरिकको सेवाको सहजताका लागि थप २३ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृहकार्य भइरहेको समेत बताउनु भयो । विधेयकले ऐनको रुप लिइसकेपछि कोही पनि नागरिक नागरिकताबिहीन भएर बस्नु नपर्ने उहाँको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.