काठमाडौं । के फेसबुकलगायत नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन्छन् ? अहिले यो प्रश्न मुख्य बहसको विषय बनेको छ ।
सरकारले पटकपटक सुचना जारी गर्दा पनि धेरैजसो सामाजिक सञ्जाल नेपालमा दर्ता हुन आएनन् । पछिल्लो पटक भदौ १२ गते फेरी सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन सरकारले निर्देशन थियो ।
तोकिएको समयमा सूचीकरण हुन नआए क्रमश: बन्द गर्दै जाने चेतावनीसमेत सरकारले दिएको थियो । सरकारले दिएको म्याद बुधबार मध्यरात १२ बजेदेखि सकिदैछ । के अब सूचीकरणमा नआएका सामाजिक सञ्जाल भोलिदेखि बन्द हुन्छन् ? के तयारी गर्दैछ सरकार ?
हेरौं यो रिपोर्ट
सरकारले दिएको समयसीमामा कार्यालय समयभित्र फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाल सूचीकरणमा दर्ता हुन आएनन् । सरकारले अन्तिम पटकका लागि बुधबार अर्थात् भदौ १९ सम्मको समय दिएको थियो ।
गत भदौ १२ गते सरकारले सूचना जारी गर्दै ७ दिनभित्र सूचीकरणमा नआउने सामाजिक सञ्जालहरूलाई क्रमश: नेपालभित्र निष्क्रिय गराउने चेतावनीसमेत दिएको थियो। अब सबैमा प्रश्न छ । के बुधबार मध्यरातबाट दर्ता नभएका सामाजिक सञ्जाल चल्दैनन् ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने बिहीबार मात्र निर्णय गर्ने बताएको छ ।
सर्वोच्च अदालतले नेपाल सरकारका नाममा दिएको निर्देशनात्मक आदेशअनुसार यही भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै सामाजिक सञ्जालहरूलाई सूचीकरण ल्याउने निर्णय गरेको थियो ।
पटक-पटक सुचना जारी गर्दा पनि दर्ता हुन नआएपछि के गर्ने वा के भन्नेमा सरकारसँग पनि स्पष्ट जवाफ छैन । मन्त्री पृथ्वी सुब्बा गुरूङ पनि यो विषयमा प्रश्न गर्यो की दिक्दारी मान्ने गर्न थालिसक्नु भएको छ । तर यो पटक मन्त्रिपरिषद्बाटै निर्णय भएकाले प्रतिष्ठाको विषय पनि छ ।
टिकटक, भाइबरलगायतका केही सञ्जाल सूचीकरण भएपनि इन्टाग्राम, फेसबुकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा नआउँदा नागरिक बीच लोकप्रिय रहेका यिनिहरूलाई सरकारले के गर्छ भविष्यले नै बताउँला ।