काठमाडौं । देशकै प्रशासनिक केन्द्र सिंहदरबारबाटै गाडी हरायो । पत्याउनुहुन्छ यो समाचार ? श्रम मन्त्रालयले यही असार १५ गते गृह मन्त्रालयलाई पत्र काटेपछि गाडी हराएको विषय सार्वजनिक भयो । तर, त्यो गाडी कहाँ हरायो, कसैलाई थाहै भएन । तर पछि खोजी हुँदै जाँदा थाहा भयो, त्यो गाडी त श्रममन्त्रीकै सचिवालयका सदस्यले लगेका रहेछन् ।
यो घटनाले राजनीतिक पहुँचका आधारमा कसरी सरकारी सम्पत्तिमाथि व्यक्तिले रजाइँ गरिरहेका छन् भन्ने पुष्टि गरेको छ ।
देशकै सबैभन्दा सुरक्षित स्थान हो, सिंहदरबार । तर राज्य प्रशासनको केन्द्र सिंहदरबारबाटै गाडी हरायो । त्यो पनि व्यक्तिको होइन, मन्त्रालयको । असार १५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई एउटा पत्र काट्यो । त्यही पत्र सार्वजनिक भएपछि थाहा भयो कि मन्त्रालयको गाडी हराएको हो ।
गृह मन्त्रालयलाई गाडी खोजिदिन आग्रह गर्दै लेखिएको पत्रमा सचिवस्तरीय निर्णय अनुसार भनिएको थियो – श्रम मन्त्रालयको प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कर्पियो सिंहदरबारबाटै हरायो, खोजीदिनुपर्यो र यसमा संलग्नलाई कारबाही गर्नुपर्यो। अचम्म त के भने मन्त्रालयलाई त्यो गाडी कहिलेदेखि हरायो भन्ने चाहिँ थाहा छैन ।
मन्त्रालयले यस्तो पत्र लेखेको दुई दिनमै गाडी भेटियो पनि ।
गाडी कहाँ हराएको रहेछ ? कसले लगेको रहेछ ? कहिलेदेखि हराएको रहेछ ? श्रम मन्त्रालयका प्रवक्ताले यी प्रश्नको जवाफ भने दिनुभएन ।
बरु यो प्रश्नलगतै तल झरेर गाडीको दृश्य छायाङ्कन गर्न लाग्दा उहाँकै निर्देशनमा प्रहरी लगाएर हामीलाई गाडी र श्रम मन्त्रालयको दृश्य संकलनमा रोक लगाउनुभयो । उहाँलाई गाडीको भिडिओ सार्वजनिक भयो भने फेरि हराउँछ कि भन्ने लागेर पो हो कि ?
खासमा गाडी हराएकै थिएन । मन्त्री शरतसिंह भण्डारीको सचिवालयका एक सदस्यले गाडी लगेका थिए तर गाडी कहाँ कसले प्रयोग गरिरहेको छ भन्ने रेकर्ड थिएन । मन्त्रालयका एक उपसचिवका लागि गाडी आवश्यक परेपछि सचिव कृष्णहरि पुस्करले गाडी लगेका व्यक्तिलाई सोध्दा थाहा नपाएको जवाफ पाउनुभयो । त्यसपछि गाडी हराएको पत्र तयार भयो र पठाइयो गृह मन्त्रालय ।
गाडी कहाँ थियो त ? कसले लगेको थियो ? चोरी भएको पो थियो कि ? मन्त्रालय यसबारे अब भने मौन छ ।
सिंहदरबारबाट गाडी हराएकै थिएन । राजनीतिक पहुँचका आधारमा सरकारी सम्पत्तिमाथि व्यक्तिले रजाइँ गरिरहेका थिए । तर सत्य कुरा थाहा पाएकै सरकारी संयन्त्रले समेत गाडी हराएको प्रचार गरेर सिंहदरबारकै सुरक्षाको खिल्ली उडाएको मात्र छैन, सरकारी सम्पत्तिको दुरुपयोगप्रति आँखा चिम्लेर सुशासनमाथि मजाक गरेको छ ।