हुम्ला । कर्णाली करिडोरअन्तर्गत चुवाखोलास्थित कर्णाली नदीमा हालिएको बेलिब्रिज आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हुम्लाको सिमकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । तीन दशक लामो प्रतीक्षापछि राष्ट्रिय सडक सञ्जालमा जोडिन पाउँदा हुम्लावासी खुशी त भएका छन् तर दिल खोलेर खुशी हुने अवस्था अझै छैन ।
किनकि हुम्ला सदरमुकाम सिमकोटदेखि प्रदेश राजधानी सुर्खेतसम्म ढुक्कले यात्रा गर्नसक्ने सडक बनेको छैन । कालिकोटको जितेगढादेखि सलीसल्ला हुँदै हुम्ला सदरमुकामसम्म १७४ किलोमिटर ट्र्याक मात्र खोलिएको कर्णाली करिडोर सार्वजनिक यातायातका साधन चल्न सक्ने गरी बनिसकेकै छैन ।
छिमेकी मुलुक भारत र चीनलाई जोड्ने त्रिदेशीय रणनीतिक सडक हुँदाहुँदै पनि कर्णाली करिडोर सरकारको प्राथमिकतामा छैन । भारतको सीमाना बाँकेको जमुनाहादेखि हुम्लामा चीनको सीमाना हिल्सा जोड्ने ५२१ किलोमिटर लामो सडकलाई ५ खण्डमा बाँडेर निर्माण गरिएको छ ।
जमुनाहादेखि कोहलपुरसम्म सडक सुविधाजनक छ । तर कोहलपुर-सुर्खेत रत्न राजमार्ग र सुर्खेतदेखि कालीकोटको जितेगडासम्मको कर्णाली राजमार्ग पक्की हुँदा हुँदै पनि साँघुरो र बाढीपहिरोको उच्च जोखिममा छ । जितेगडा हुँदै सल्लीसल्लासम्मको १२३ किलोमिटर ट्रयाक स्तरोन्नति हुँदैछ। यही खण्डमा ३० किलोमिटर ग्राभेल भएको छ। सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर सबैभन्दा जोखिमपूर्ण छ । सिमकोट-हिल्सा ९५ किलोमिटर खण्डमा भने दैनिक गाडी चल्दै आएका छन् ।