हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला कर्णालीमा हालिएको बेलिब्रिज आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यससँगै अब मुलुकका सतहत्तरै जिल्ला राष्ट्रिय सडक सञ्जालमा पुगेको छ ।
तर यसको अर्थ आजबाट पहिलो पटक गाडी चल्न थालेको भन्ने भने होइन । यसअघि नै हल्का सवारीसाधनमार्फत सुर्खेत-सिमकोट सामान ढुवानी र जन आवागमन जारी थियो ।
अब भने सदरमुकाम सिमकोटसम्म सिधा सडक पहुँच पुगेको हो । सडक विभागले चुवाखोला कर्णालीमा मोटरेबल पुल बनाइरहँदा ढिलासुस्ती भएपछि बेलिब्रिज उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस उपलब्धिलाई कर्णालीको नयाँ युगको सुरुआको रूपमा घोषणा गर्नुभयो ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले हिल्सामा भन्सार र क्वारेन्टाइन कार्यालय स्थापना चाँडै गर्ने जानकारी दिनुभयो । बेलिब्रिज उद्घाटनसँगै स्थानीयमा उत्साह देखिएको छ । खार्पुनाथ, सिमकोट, नाम्खा लगायतका क्षेत्रका नागरिकले अब केही सहजरूपमा सुर्खेत, नेपालगन्जसम्म यात्रा गर्न सक्नेछन् ।