रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकर जलेको शरीर लिएर काठमाडौंमा

डरै डरका बीच न्यायका लागि सञ्चारमाध्यममा बयान
दोषीलाई कारबाही गर्न माग
असार २२, २०८२ |रमेश धमला
रौतहट बमकाण्डका जीवित साक्षी गौरीशंकर जलेको शरीर लिएर काठमाडौंमा

काठमाडौं । घाँटीदेखि तल आधा शरीर जलेको छ। कान दुवै छैनन् । मुखमा देखिएका यी दाग गौरीशंकर राम चमारको जीवनमा अब कहिल्यै मेटिने छैनन् ।

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले रौतहट बम विस्फोट र हत्या घटनाका आरोपीलाई प्रमाण नपुगेको भन्दै गत जेठ १४ गते सफाइ दिएपछि न्यायाधीशमाथि नै छानबिन भइरहेको छ । सफाइ पाउने आरोपी हुन् नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलम । अदालतले आलमविरुद्ध प्रमाण नपुगेको भन्दै सफाइ दियो, त्यही घटनामा बमले आधा शरीर जलेका पीडित गौरीशंकर राम न्यायका लागि काठमाडौं आइपुग्नुभएको छ । आलमकै इँटाभट्टामा काम गर्ने उहाँ बम विस्फोट घटनाका साक्षी पनि हुनुहुन्छ ।

१८ वर्षअघिको त्यो कहालीलाग्दो घटनाको साक्षी बनेर सञ्चारमाध्यममा बयान दिन तयार भए पनि गौरीशंकरका मनमा डर उस्तै छ । तर पनि न्याय खोज्दै काठमाडौं आइपुगेका गौरीशंकरलाई यो अवस्थामा पुर्‍याउने घटनाका मुख्य आरोपी उनै पूर्वसांसद आफताब आलम हुन् । २७ चैत २०६४ को साँझ उहाँलाई पैसा लिन घरमै बोलाइयो । केही साथीसहित जब गौरीशंकर आफताबको घरको ढोकामा पुग्नुभयो, तत्काल बम विस्फोट भएर ढलेको त्यो दिन उहाँले बिर्सनुभएको छैन ।

विस्फोटमा परेर ढलेका गौरीलाई सुरुमा केही थाहा भएन । शरीरमा आगो लागेको थाहा पाएपछि भने हतारहतार नजिकै इट्टाभट्टाका लागि राखिएको पानीमा डुबेर आगो निभाउनुभयो । त्यसपछि फेरि बेहोस भएर ब्युँझदा भने अस्पतालको शय्यामा उहाँलाई आमाले हेरिरहनुभएको थियो । जति बेला गौरीशंकरको शरीर आलमको घरमा बनिरहेको बमले उडाएको थियो, त्यति बेला उहाँको उमेर २५ वर्ष मात्रै थियो ।

सीतामढी भारतका गौरीशंकरलाई एउटा इँटा पोलेको ३० पैसा दिने गरी काममा लगाइएको थियो । दैनिक दुई सय रुपैयाँ कमाइ हुन्थ्यो । त्यस दिन उहाँलाई आफताबका भाइ महताफले बोलाएका थिए । तर बमले शरीर जलेयता घाममा काम गर्न सक्नुहुन्न । न्याय पाइन्छ भनेर काठमाडौं आइपुगे पनि मनमा डर उस्तै छ । जलेको शरीरलाई कसले न्याय दिन्छ ठेगान छैन । शरीर त यसै जलेको छ, त्यसमाथि न्याय नपाउँदाको पीडाले मन झन् जलेको छ । उहाँ किटान गरेर भन्न सक्नुहुन्छ- त्यस दिन आफताब आलमको घरमै बम विस्फोट भएको हो ।

गौरीशंकरलाई जीवन बाँच्ने आधारको रूपमा काठमाडौंमा काम पनि चाहिएको छ । तर काम कसैले दिएको छैन । जलेको शरीर लिएर गौरी आफताब आलमले सफाइ पाएकोमा अचम्मित हुनुहुन्छ । अफताबलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्‌मा छानबिन भइरहेको छ । उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च जाने तयारी गरिरहनुभएका गौरी नै आफताब आलमलाई दोषी ठहर गर्ने मुख्य साक्षी हुनुहुन्छ, जसबाट नरसंहारका एक आरोपीले सजाय पाउन सक्छन् ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।