काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
जसबारे बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताउनु भयो । सबै चीज निजीकरण गर्ने भए भोली सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने बताउनु भयो ।
सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झैँ विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताउनु भयो ।