काभ्रे । भाँसिएको पुलका कारण पूर्ण रूपमा अवरूद्ध भएको काभ्रेको नाला-भक्तपुर सडकखण्ड आइतबार बिहानदेखि पुनः अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ ।
बनेपा नगरपालिका, सडक विभाग तथा जिल्ला ट्राफिक कार्यालय, बनेपाको समन्वयमा गएराति छवटा ठूला ह्यूमपाइप राखेर सडक खुलाइएको हो ।
शुक्रबार राती अरनिको राजमार्गका सवारीको चापले जीर्ण पुल भत्किएपछि वैकल्पिक मार्गसमेत बन्द हुँदा यात्रुहरू र स्थानीयवासीलाई कठिनाई भएको थियो । तत्कालीन आवागमन सहज बनाउन छरितो रूपमा काम अघि बढाइएको र हाल हलुका सवारी साधनका लागि सडक सुचारू गरिएको ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
तर, संरचना स्थायित्व नभएकाले सावधानीपूर्वक मात्र आवागमन गर्न ट्राफिक प्रहरीको अनुरोध छ । स्थायी समाधानका लागि पुल पुनर्निर्माणको तयारी पनि सुरू गरिने जनाइएको छ ।