काठमाडौं । रकम असुलेर भिजिट भिसामा मान्छे पठाएको आरोपमा गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख तीर्थ भट्टराईलाई पक्राउ गर्यो । तर करिब डेढ महिना हुन लाग्दा पनि अख्तियारले अनुसन्धान पूरा गरेको छैन ।
भट्टराईको घरमा छापा मारेर अख्तियारले केही मोबाइल र डिभाइस पनि बरामद गरेको थियो । अहिले तिनै मोबाइल परीक्षणबाट आएको रिपोर्ट विश्लेषण भइरहेको छ ।
भट्टराईलाई दैनिकजसो सोधपुछका लागि बोलाइरहेको अख्तियारले भट्टराईसँगै नियन्त्रणमा लिइएका चारजना एजेन्टसँग पनि पहिलो चरणको सोधपुछ भइरहेको जनाएको छ। नियन्त्रणमा लिइएकाहरूलाई अख्तियारले तीन महिनासम्म अनुसन्धान गर्न सक्छ ।
गृह मन्त्रालयको उच्च पदाधिकारीहरूको संरक्षणमै पैसा लिएर भिजिट भिसामा नेपालीलाई उडाएको, एनओसी नभएका भारतीयलाई विदेश पठाएको आरोप समेत उनीहरूमाथि छ । अख्तियारले यो प्रकरणमा गृहका उच्च पदाधिकारीको संलग्नता खुल्ने प्रमाण खोजिरहेको अख्तियार स्रोतले जनाएको छ ।
यता सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाएको छानबिन समितिले भट्टराई संलग्न घटनाको छानबिन नगर्ने भएको छ । अख्तियारले अनुसन्धान गरिरहेकाले समितिले नीतिगत सुधारबारे मात्रै अध्ययन गर्ने भएको हो । सरकारले गठन गरेको उक्त छानबिन समितिप्रति विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको भने असन्तुष्टि कायमै छ ।
विमानस्थलमा अहिले पनि ट्राभल एजेन्सी र म्यानपावर कम्पनीका केही व्यक्तिहरू सक्रिय रहेको स्रोतको दाबी छ । उनीहरूले भिजिट भिसामा जानेहरूबाट पैसा असुलिरहेको आशंका गरिएको छ । गृह मन्त्रालयले सुधार गर्ने भने पनि कुनै परिणाम नदेखिएको अध्यागमनमै संलग्न अधिकृतहरू बताउँछन् ।