झापा सदरमुकाम चन्द्रगढीका सडकको बेहाल, ४ परिवारले दायर गरेको मुअब्जा मुद्दालाई देखाएर निमार्णमा ढिलासुस्ती

असार २०, २०८२ |रमा दाहाल
झापा सदरमुकाम चन्द्रगढीका सडकको बेहाल, ४ परिवारले दायर गरेको मुअब्जा मुद्दालाई देखाएर निमार्णमा ढिलासुस्ती

झापा । जिल्ला सदरमुकाम भन्नेवित्तिकै हामी भौतिक पूर्वाधारले सम्पन्न ठाउँ सम्झन्छौं । तर, झापा सदरमुकाम चन्द्रगढी बजारको अवस्था भने त्यसको ठीक उल्टो छ। जिल्लाका ग्रामीण भेगसम्म फराकिला र चिल्ला सडक पुगिसक्दा पनि सदरमुकाम चन्द्रगढी बजार भने वषौंदेखि हिलाम्ये र धुलाम्ये छ ।

सम्झौताअनुसार काम सम्पन्न भएको भए झापाको विर्तामोडबाट भद्रपुर जोड्ने सडक दुई वर्षअघि नै चार लेनको बनिसकेको हुन्थ्यो । तर, अहिलेसम्म यो सडकअन्तर्गत देउनिया पुलदेखि चन्द्रगढी बजारसम्मको काम पूरा हुन सकेको छैन् । जसका कारण सदरमुकाम अस्तव्यस्त देखिएको छ । सदरमुकामको यो हालतले राजनीतिकदेखि प्रशासनिक नेतृत्वसम्मलाई गिज्याइरहेको छ ।

१५ मिटरको चार लेन सडक बनाउँदा चन्द्रगढी बजारका करिब दूई दर्जन घर भत्किन्थे । त्यही भएर सडक निर्माण रोक्न माग गर्दै २०७८ सालमा २१ परिवारले सर्बोच्चमा रिट दायर गरेका थिए । 

तीमध्ये १७ परिवारले भने स्थानीय तहसागको समहतिमा यसअघि नै मुद्धा फिर्ता लिइसकेका छन् । त्यो रिट पनि सर्वाेच्च अदालतले गत जेठ २७ गतेे खारेज गरिदिएको छ । तर, प्रभावितमध्ये केही परिवारले भने अझै मुअब्जाको अडान छाडेका छैनन् ।

यता सडक निर्माणमा भइरहेको अवरोध फुकाउन भद्रपुर नगरपालिकाले चन्द्रगढी बजार क्षे्त्रमा ११ दशमलव ३ मिटरको मात्र सडक बनाउने सहमति गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै आउँदो पुससम्ममा विर्तामोड-भद्रपुर सडक पूरा हुनेमा भद्रपुरका जनप्रतिनिधि विश्वस्त छन् ।

३० महिनामा काम सक्ने सम्झौतामा काठमाडौंको एमएस कन्टेक प्रालिले २०७७ साल माघ ६ गते विर्तामोड-भद्रपुर सडकको ठेक्का सकारेको थियो । तर, कहिले ठेकेदारको ढिलासुस्ती त कहिले स्थानीय अवरोधका कारण म्याद सकिएको दुई वर्ष वित्दा पनि सडक बनिनसक्दा झापा सदरमुकाम दुर्गम बस्तीझैं बनिरहेको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।