काभ्रे । धुलिखेलमा आगामी असार २६ र २७ गते बृहत् रोजगार मेला आयोजना गरिने भएको छ ।
नमुना रोजगार सेवाअन्तर्गत प्रदेशस्तरमा छनोट भएका तीन नगरमध्ये एक धुलिखेल नगरपालिकामा आयोजना हुने मेलामा नागरिकलाई रोजगारीका अवसर प्रदान गरिने उद्देश्य लिएको छ ।
नगरभित्रका नागरिकलाई पहिलो प्राथमिकता दिइने उक्त मेलामा करिब चार लाख रूपैयाँ बराबरको खर्च अनुमान गरिएको छ भने स्टलहरू नि:शुल्क प्रदान गरिनेछ ।
हालसम्म होटल व्यवसायीहरूले झण्डै ५० जना जनशक्तिको माग गरिसकेका छन् । मेलामार्फत कम्तीमा १०० जनालाई न्यूनतम रोजगारी प्रदान गर्ने लक्ष्य रहेको आयोजकको भनाइ छ ।
कार्यक्रमबारे जानकारी दिन बुधबार नगर कार्यालयमा पत्रकार सम्मेलन गरी वडा नं ३ का अध्यक्ष तथा शिक्षा शाखा संयोजक गणेश आचार्य र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले संयुक्तरूपमा जानकारी गराउनुभएको हो ।