काठमाडौं । चोभारमा रहेको वाग्मती निकास गल्छी काट्न लागेको भनेर अहिले स्थानीय, पुरातत्वविद्, जनप्रतिनिधि र विपद् प्राधिकरणबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
बर्खाको पानी सहज निकास नहुँदा काठमाडौं उपत्यका वर्षेनी डुवानमा पर्ने गरेको भन्दै सरकारले चोभारस्थित मञ्जुश्री गल्छी सफा गर्ने तथा ढुंगा फुटाउने योजना अघि बढाएपछि विवाद सुरू भएको हो ।
मञ्जुश्री गल्छी काठमाडौं उपत्यकाका ८० भन्दा धेरै नदी, खोला, कुलो तथा खहरेको निकास बिन्दू मात्र नभएर धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान पनि हो ।
सरकारले गल्छीभन्दा करिब १ सय ५० मिटर माथिका ५ वटा ढुंगा निकाल्ने तयारी थाल्दा स्थानीयले विरोध गरेका छन् । जबकी सरकारले यहाँका ढुंगा फुटाउँदा हुने जोखिमका विषयमा विस्तृत अध्ययन नै गरेको छैन् ।
अर्कोतर्फ काठमाडौं उपत्यकाका नदी तथा खोला अतिक्रमण गरी संरचना बनाउने क्रम नरोकिंदा ती बहाव क्षेत्रमा वर्षामा खोला फैलिएर पानी बस्ती पसेको हो । यसकारण खोलालाई दोष दिनुको साटो व्यस्थित बसोवास तर्फ ध्यानदिनु पर्ने तर्फ भने चासो देखिने गरेको छैन् ।
कसरी सुरू भयो चोभार गल्छीको ढुंगा निकाल्ने योजना ?
गत वर्षको असोज दोस्रो साता आएको बाढीले काठमाडौं उपत्यकाका धेरै स्थान डुवानमा परे । बाढीकै बीच केही व्यक्तिले चोभारको गल्छी काटेर पानीको निकास बढाउनु पर्ने रायसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे ।
ललितपुर नगरपालिका वडा नम्बर १८ ले फागुन १९ गते र कीर्तिपुर नगरपालिका वडा नम्बर ६ ले २० गते अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलाई गल्छी आसपासको पहिरो तथा खोला व्यवस्थापन गरी जोखिम कम गर्ने आशयको पत्र पठाए ।
पत्रको व्यहोरा समितिले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई पठाएपछि प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा चोभारको गल्छीमा रहेको अवरोध हटाउने निर्णय गरेको थियो । वागमती सभ्यता एकीकृत विकास समिति भन्छ, चोभार गल्छीलाई कुनै असर नगरी बागमती नदीका ५ वटा ढुंगा मात्रै निकाल्ने तयारी भएको हो ।
ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने पाँचवटा ढुंगालाई केही असर नपर्ने गरी नदी सफा गर्नुपर्ने अडान लिएका छन् । वडाले पठाएको पत्रको आशय पनि गल्छी काट्ने वा ढुंगा निकाल्ने नभएको नगरपालिकाको जिकिर छ ।
काठमाडौं उपत्यका डुवानमा पर्नुको मुख्य कारण हो नदी तथा खोला अतिक्रमण । नदी किनारबाट दायाँ-बायाँ २० मिटर समेत नछाडी नदि बहाव क्षेत्रमा संरचना बनाउँदा वस्ति वर्खाको नदिको बाढीमा पर्ने गरेका छन् । ललितपुर महानगर १८ नम्बर वडाको नख्खु दोभान आदीनाथ मार्गको दक्षिण टोलमा त नदी किनारलाई ५ मिटर पनि नछाडि संरचना बनाइएको छ ।
विस्तृत अध्ययन नगरी र स्थानीयको विरोधका बीच पनि सरकारले ढुंगा फुटाउने योजना अघि बढाउँदा द्वन्द्व बढ्दै गएको छ । सरकारले चोभार गल्छी आसपासका बासिन्दासँग समेत कुनै परामर्श गरेको छैन् ।
त्यसमाथि केही अभियन्ताले गल्छीनै काट्न लागियो भन्ने हो हल्ला गरेर माहोल भड्काइरहेका छन् । जसले ललितपुर र कीर्तिपुरमा चोभार गल्छीलाई लिएर विरोध झन् बढ्दै छ ।
यसैबीच सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका कुनै पनि प्राकृतिक चट्टान नहटाइने स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी गल्छीभन्दा माथिको फोहोरहरू हटाइने तर प्राकृतिक चट्टान नहटाइने उल्लेख गरेको छ ।
मन्त्रालयले चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचानलाई जोगाउँदै वरपरको क्षेत्रमा हुनसक्ने डुबान कम गर्न प्रयास गरिने जनाएको छ ।