पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको साढे दुई वर्षपछि हवाई इन्धन डिपो निर्माण, साउनदेखि सञ्चालनमा आउने

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको साढे दुई वर्षपछि हवाई इन्धन डिपो निर्माण, साउनदेखि सञ्चालनमा आउने

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको साढे दुई वर्षपछि हवाई इन्धन डिपो निर्माण भएको छ ।

करिब ७५ करोड रूपैयाँ लगानीमा नेपाल आयल निगमले विमानस्थलभित्र ३६ लाख लिटर क्षमताको इन्धन डिपो निर्माण गरेको हो । दुई वर्षअघि थालिएको डिपो निर्माण सम्पन्न भई अहिले परीक्षणमा रहेको र साउन पहिलो सातादेखि सञ्चालनमा आउने बिहीबार पत्रकार सम्मेलन गरी निगमले जानकारी दिएको छ। 

डिपोमा एक हजार २ सय किलोलिटर क्षमताका ३ वटा ठूला भण्डारण गृह निर्माण गरिएको छ। भर्टिकल स्टोरेज ट्यांकको उचाइ ब्यास १२ मिटर छ भने डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन एक हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी र फायर फाइटिङ संरचना बनाइएको छ । 

आगलागीको जोखिमलाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको 'फोम स्टोरेज' ट्यांकसमेत निर्माण गरिएको निगमले जनाएको छ । डिपोले आन्तरिक उडानका लागि तीन महिनासम्मको खपत धान्न सक्छ भने अन्तर्राष्ट्रिय उडान तर्फ दैनिक एक उडानका लागि एक महिनासम्म इन्धन आपूर्ति गर्न सक्ने परियोजना प्रमुख प्रदीपकुमार यादवले बताउनुभयो । 

निगमको ५५ वर्षको इतिहासमा शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट निर्मित आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो यो पहिलो हो । 

विमानस्थल परिसरमा नौं हजार दुई सय १५ वर्गमिटर जग्गामा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले डिपो बनाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.