कैलाली । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा पछिल्लो २४ घण्टामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरीमा २४ घण्टाको अवधिमा २ सय ६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २ सय २ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ । वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले सबैमा आग्नह गरेको छ ।
अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यहरुलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भिमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरूमा भारी वर्षाका कारण डुबान भएको छ, जसले गर्दा स्थानीयहरू प्रभावित भएका छन्। वडा नम्बर ८ र १२ लगायतका क्षेत्रका घरहरूमा पानी पसेर लाखौंको क्षति भएको छ, जसमा फर्निचर र खाद्यान्न लगायतका सामग्रीहरूमा क्षति पुगेको छ। उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारकाे मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारकाे काम गरिरहेका छन्।
सेती नदिमा पानीकाे वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन् । खोला तथा नदीहरुमा पानीको बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलो क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ ।