बाजुरा । बाजुरामा पनि २२औं राष्टिय धान दिवस मनाइएको छ । त्यहाँका ९ वटै पालिकाका कृषि शाखाको आयोजनामा धान दिवस मनाइएको हो ।
यसैगरी कृषि ज्ञान केन्द्र बाजुराले कृषि पेशामा लागेर उत्कृष्ट कार्य गर्ने तीन जना कृषकलाई २२औं राष्ट्रिय धान दिवसको अवसरमा सम्मान गरेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त दिवसको अवसरमा विभिन्न विधामा व्यवसाय गर्ने कृषकलाई आर्थिक वर्ष ०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार सम्मान गरिएको हो ।
त्यहाँका तरकारी र बाख्रा पालन गरेर उत्कृष्ट व्यवसाय गर्दै आएका बुढीनन्दा नगरपालिकाका तरकारी खेतीतर्फ बुढीनन्दा नगरपालिका-३ का रण बहादुर बोहरा, बडीमालिका नगरपालिका-८ का लाल बहादुर अयडीलाई सम्मान गरिएको छ ।
यस्तै बाख्रा पालनतर्फ बुढीगंगा नगरपालिका-१ की सुशिला कुमारी थापा सम्मानित भएकी छन् । उनीहरूलाई जनही २५ हजार नगदसहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताएका छन् । उनीहरूलाई नगद २५ हजार रूपैयाँसहित सम्मान पत्रले सम्मानित गरिएको उहाँले बताउनुभयाे ।
कार्यक्रममा सम्मानित भएका रण बहादुर बोहराले गाउँमै केही गर्नुपर्छ भनेर व्यवसायीक तरकारी खेतीमा लागेको भन्दै यो सम्मानले थप हौसला मिलेको बताउनुभयाे ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले धान दिवसको शुभकामना दिदैँ दिनप्रतिदिन खेती योग्य जमिन बाँझो हुँदै गएकाले त्यहाँकाे आर्गनिक धान उत्पादनमा जोड दिनुपर्ने बताउनुभयाे ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले सम्मानित भएका उत्कृष्ट कृषकहरूलाई बधाई दिँदै कृषि खेतीमा सबैले व्यवसायीक रूपमा लाग्नुपर्नेमा जोड दिनुभयाे ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उन्नत बीउ प्रयोग गरेर कृषि अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत रूपमा पालिकाले विभिन्न कार्यक्रम गरी रहेको बताउनुभयाे ।