भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा गरेको जग्गा प्लटिङले आसपासका वस्ती डुवानको जोखिममा परेको छ ।
बस्ती डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले केही समय अघि प्लटिंग क्षेत्रको अनुगमन गरि तत्कालका लागि भिरालो जमिन नखन्न र प्लटिंग क्षेत्र वरपर पर्खाल लगाउन घरजग्गा व्यवसायीलाई निर्देशन दिइएको थियो । तर प्लटिंग क्षेत्र मा पर्खाल लगाउन काम निकै सूस्त गतिमा भइरहेको भन्दै स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । सामान्य पानी पर्दा पनि प्लटिङ गरिएको भिरालोको जग्गाको माटो बगाएर खोला पुरिएपछि वर्षात्को समयमा यो क्षेत्र डुबानमा पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
४ सय रोपनी भन्दा धेरै जग्गामा गरेको प्लटिङले भिरालो जग्गाबाट माटो बगाएर तलको धोबीखोला पुरिएको छ । गत बर्षको डुवानले यस क्षेत्रमा करोडौको क्षति भएको थियो । यस वर्ष पनि वर्षात्को समय सुरु भएकाले क्षति हुन नदिन स्थानीयले जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समेत ध्यानाकर्षण गराउँदै आएका छन ।