सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टमको लागि राखिएको शव लिएर आफन्तहरूको एक समुह भागेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडिबाटै पोष्टमार्टम गर्न नमान्दै प्रहरीसँग झडप गर्दै शव लिएर भाग्न सफल भएका हुन् ।
बिष्णुपुर गाउँपालिका-१ थलहीकी ४५ वर्षीय मसुरन खातुन शुक्रबार दिउँसो माइतीघर राजगढ गाउँपालिका-३ नर्घोमा धान रोपिरहँदा अचानक बेहोस भएर उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीले शवको पोष्टमार्टम गर्न गजेन्द्रनारायण अस्पताल राजविराजको पोष्टमार्टम गृहमा राखेको थियो। तर उनका आफन्तले पोष्टमार्टम गराउन नमान्दै बेलुका ५ बजेतिर आएको एक झुण्डले बलजफ्ती पोष्टमार्टम गृहलाई तोडफोड गर्दै शव लिएर भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट अस्पताल पुगेका प्रहरीले शव लिएर भागिरहेका आफन्तलाई रोक्न प्रयास गरेपनि असफल भएका थियो । आफन्तले प्रहरीसँग घम्साघम्सी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडिबाटै शव लिएर गएका छन्।
यता पोष्टमार्टमको लागि राखिएको शव जबरजस्ती लिएर फरार भएपछि यसमा आशांकाको विषय देखिएको छ। शवको पोष्टमार्टम नहुँदा यसको अनुसन्धान प्रभावित हुने देखिएपनि प्रहरीले यसमा तदारूकता देखाएको छैन्।
उता मृतकका आफन्तले शव निकाल्ने क्रममा अस्पतालको मुर्दाघरमा तोडफोडसमेत गरेको छ ।