इजरायलले युद्धविराम प्रस्ताव अस्वीकार गरेको हमासको आरोप

सबै बन्दी एकैचोटी रिहा गर्ने प्रस्तावमा समेत इजरायल सहमत नभएको दाबी
श्रावण ३, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलले युद्धविराम प्रस्ताव अस्वीकार गरेको हमासको आरोप

काठमाडौं । हमासको सैन्य शाखा अल-कासाम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले इजरायलले युद्धविरामको एक व्यापक प्रस्ताव अस्वीकार गरेको बताउनुभएकाे छ।

शुक्रबार सार्वजनिक गरिएको करिब २० मिनेटको भिडियो सन्देशमा उहाँले हमासले हालैका महिनाहरूमा सबै बन्दीहरू एकैचोटी रिहा गर्ने प्रस्ताव राखेको दाबी गर्नुभएकाे हाे । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उहाँका अतिवादी मन्त्रीहरूले उक्त प्रस्ताव अस्वीकार गरेको प्रवक्ता ओबैदाले आरोप लगाउनुभएकाे छ।

यदि कतारमा भइरहेका अप्रत्यक्ष वार्ताबाट इजरायल पछि हट्छ भने हामासले हाल छलफलमा रहेको ६० दिने आंशिक सम्झौतालाई पनि मान्यता नदिने अबु ओबैदाले चेतावनी दिनुभएकाे छ। उक्त प्रस्तावअनुसार १० जना बन्दीहरूलाई रिहा गरिनेछ।

उहाँकाअनुसार हालसम्म हमासले ५० जना व्यक्तिलाई गाजामा बन्दी बनाएर राखेको छ, जसमा करिब २० जना अझै जीवित रहेको विश्वास गरिएको छ। मार्च यता पहिलोपटक सार्वजनिक सन्देश दिँदै अबु ओबैदाले हामासका लडाकुहरू लामो युद्धका लागि तयार रहेको बताउनुभयाे र गाजाभर आक्रमण गर्न आएका इजरायली सैनिकहरूलाई लक्षित गर्दै घात हमला जारी राख्ने चेतावनी दिनुभयाे।

यसैबीच, शुक्रबार मात्र गाजामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ४१ जना प्यालेस्टिनीको ज्यान गएको छ।