दोलखा । दोलखामा व्यावसायिकरूपमा गरिएको अलैँचीको बगान अज्ञात रोगले नष्ट गरेपछि किसानले बगान मास्नथालेका छन् ।
सयभन्दा बढी किसानको अलैँचीको बगान मासिए पनि अझैसम्म रोगको पहिचान हुन सकेको छैन । अलैँची बगानमा लागेको रोग निवारणको कतैबाट प्रयाससमेत नभएकोमा किसानको गुनासो छ ।
जसका कारण किसानको अलैँची बगान मासिने क्रम बढेको छ । अलैँचीले बल्ल भाउ पाउन लागेका बगानै रोगले सखाप पार्नथालेपछि किसान विस्थापित हुन थालेका हुन् ।
जरैसम्म सुकेर मर्न थालेपछि अलैँची बगान मासिएका हुन् । दोलखाका नौ वटै स्थानीय तहमा व्यावसायिक रूपमा अलैँचीको खेती गरेका सयौं किसानको अलैँचीको बगानमा पहिचान हुन नसकेको रोगले मासिएको छ ।
दोलखाबाट वार्षिक ११ करोड रूपैयाँभन्दा बढिको अलैँची उत्पादन हुँदै आएको छ। अलैँचीमा लागेको रोग पहिचान गरी निवारण गरिदिन कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखामा आग्रह गरे पनि सुनुवाइ नभएको किसानको गुनासो छ ।