पर्याप्त पानी नपरेपछि धान रोप्न नपाएका महोत्तरीका किसान चिन्तामा, बीउ ब्याडमै सुक्यो

हालसम्म १८ प्रतिशत मात्रै रोपाइँ
श्रावण ३, २०८२ |विकास आर्या
पर्याप्त पानी नपरेपछि धान रोप्न नपाएका महोत्तरीका किसान चिन्तामा, बीउ ब्याडमै सुक्यो

महोत्तरी । पर्याप्त वर्षा नभएपछि महोत्तरीमा धान लगाउन नपाएर किसान चिन्तित छन् । असार साउन लागिसक्दा पनि पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधाकाे अभावले धान रोपाइँ नभएकाले अधिकांश किसानको खेत बाँझै छ ।

लामो समयसम्म पानी नपर्दा सुकेका बिउ हेरेर बस्न बाध्य छन् महोत्तरीका किसान । खडेरीको मारमा परेका किसान असार बित्दा समेत खेती गर्न नपाउँदा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । 

सिँचाइको सुविधा नहुँदा खेती गर्न आकाशे पानीकै भर पर्नु पर्ने अवस्था छ । जेनतेन कतिपय किसानले पोखरीबाट मेसिनका साथै पम्पसेट जस्ता उपकरणको प्रयोग गरी धान रोप्दा खर्च बढ्दै गएको छ । कुनै बेला महोत्तरी जिल्लाले अन्यत्र धान निर्यात गथ्र्यो भने अहिले पानीको अभावमा खेती समेत हुन सकेको छैन ।

धान कृषकका लागि असार उत्सव हो । पहिले असार १५ सम्म रोपाइँ सकिन्थ्यो । तर यस वर्ष पानी नपरेका कारण साउन लाग्दा समेत रोपाइँ हुन सकेको छैन । सिँचाइ सुबिधा नभएका कारण बिउ सुकेर कृषक दुखी छन् ।

महोत्तरीमा हालसम्म १८ प्रतिशत मात्रै रोपाइँ भएको छ । १५ स्थानीय तह रहेका महोतरीमा सबैभन्दा कम मनराशिशवा दुई प्रतिशत मात्रै रोपाइ भएको छ ।

सबैभन्दा बढी सम्सी गाउँपालिकामा-३० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । यता मनराशिशवाका नगरप्रमुख मोहन पान्डे भने धान खेतीको विकल्प खोज्नुपर्ने बताउनुहुन्छ ।

महोत्तरीमा ४० हजार ३ सय २१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । जस मध्ये हालसम्म १८ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष महोत्तरीमा १ लाख २४ हजार ९ सय मेट्रीक टन धान उत्पादन भएको थियो ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।