अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको इरानको प्रष्टोक्ति

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको इरानको प्रष्टोक्ति

एजेन्सी। अमेरिकासँग अर्को साता वार्ताको कुनै तयारी नरहेको इरानले प्रष्ट पारेको छ । इजरायलसँगको १२-दिने युद्धपछिको अवस्थामा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न लागेको भन्ने खबरलाई इरानले स्पष्ट रूपमा खारेज गरेको हो।

इरानी विदेशमन्त्री अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता सुरु गर्न कुनै योजना नभएको र यसबारे सहमति वा संवाद पनि नभएको बताउनुभएको छ । उहाँले इजरायली आक्रमणबाट इरानी आणविक केन्द्रमा पुगेको क्षतिको अध्ययनपछि मात्र कुटनीतिक निर्णय लिइने पनि प्रष्ट पार्नुभयो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केहि दिनअघि विशेष दूत स्टिभ विटकॉफमार्फत आगामी सातादेखि इरानसँग “समग्र शान्ति सम्झौताको लागि वार्ता सुरु हुने बताउनु भएको थियो । यसैबीच इरानी संसदले राष्ट्रसंघीय आणविक निगरानी संस्थासँगको सहकार्यलाई निलम्बन गर्ने “बाध्यकारी प्रस्ताव पारित गरेको छ। यता सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धपछिको पहिलो सार्वजनिक सम्बोधनमा अमेरिकामाथि तीव्र आलोचना गर्दै ,अमेरिकी राष्ट्रपति ट्रम्पले आक्रमणको प्रभावलाई अस्वाभाविक रूपमा अतिरञ्जित गरेको आरोप लगाउनुभएको छ ।

खामेनीले इरानले युद्धमा विजय हासिल गरेको र अमेरिका तथा इजरायललाई गम्भीर झट्का दिएको दावी पनि गर्नुभयो ।

उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धलाई ऐतिहासिक जितको संज्ञा दिनु भएको छ ।

युद्धपछिको अवस्था र द्विपक्षीय दाबीहरूबीच फरक मत देखिंदै जाँदा,आणविक वार्ता पुनः सुरु हुने कुनै सङ्केत देखिएको छैन। यसले गर्दा पश्चिम एसियाको स्थायित्व र आणविक शान्ति प्रक्रियामा थप अन्योल सिर्जना भएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.