सासुको हत्या आरोपमा २१ वर्षपछि ज्वाइँ पक्राउ

श्रीमतीले दोस्रो बिहे गरेपछि सासुसँग झगडा हुँदा हत्या गरेको प्रहरीसमक्ष स्वीकार
असार १२, २०८२ |माधव अर्याल
सासुको हत्या आरोपमा २१ वर्षपछि ज्वाइँ पक्राउ

पाल्पा । सासुको हत्या आरोपमा २१ वर्षपछि ज्वाइँ पक्राउ परेका छन् । २०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाउँ विकास समिति-९, हाल पूर्वखोला गाउँपालिका-१, गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई २१ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्या गरी फरार पूर्ण बहादुर लामो समयदेखि भारतमा लुकिछिपी बसेको र बिहीबार नेपाल फर्किने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । सार्कीलाई बिहान ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप-महानगरपालिका-१५, स्थित जमुनाह भन्सार नाकाबाट पक्राउ गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रहरी प्रमुख पवन कुमार भट्टराईकाअनुसार निकै मिहिनेत गरेपछि मात्र हत्या आरोपी पक्राउ गर्न सफल भएको हो । मृतक चिनीसराको छोरीले दोस्रो बिहे गरेर अन्यत्र हिडेपछि झगडा हुँदा पूर्ण बहादुरले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । 

‘हत्या गरेर भारततर्फ भागी फरार रहेका थिए,’ प्रहरी प्रमुख भट्टराईले भन्नुभयाे, ‘धेरै मिहिनेतपछि मात्र पक्राउ गर्न सफल भएका हौं ।’

छोरी दोस्रो विवाह गरेर अर्कैसँग गएपछि उनीहरूबीच झगडा सुरू भएको थियो । झगडापछि हत्याको रूप लिएका पूर्ण बहादुरले स्वीकार गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयाे । 

‘घरमा कुटपिट गरेर नजिकै रहेको मकै बारीमा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयाे । पूर्ण बहादुरलाई मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भइरहेको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।